Skip to content
Prabhu

म्याग्दीको सिङ्गा तातोपानी कुण्डको आकर्षण बढ्दै

मनाङ । विसं २०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवर्द्धन भइरहेको छ । 

यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले प्रमाणित गरेको छ । चिकित्सकबाट नै प्रमाणित गरी यस तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने सेवाग्राही बढ्दै गएका छन् । प्राकृतिक चिकित्सालयका रुपमा ख्याति कमाउँदै आएको यस तातोपानी कुण्डको पानीमा नुहाउँदा वा डुब्दा रोग निको हुने गरेको छ । 

चितवनको कसराचोकका ६७ वर्षीया रमा कुमारी पौडेल पहिलो पटक तातोपानीमा डुब्न आएको बताए । उनले भने, ‘जीउ दुख्ने भएर तातोपानीमा डुब्न आएको हो । यहाँ डुब्दा बिस्तारै निको हुँदै गएको छ ।’ सबैले यहाँको तातोपानी नुहाउँदा निको हुन्छ भन्ने थाहा पाएर आएको उनले बताए । 

त्यस्तै कास्की पोखराका ६६ वर्षीया पुञ्जमाया पुन मगरले भनिन्, ‘म बर्सेनि यहाँको तातोपानीमा डुब्न आउँछु । यहाँ डुबेपछि शरीरमा हुने छाला चिलाउन छोड्छ । यहाँ नआएको समयमा त म बस्नै नसक्ने बन्छु ।’ छोरीले यहाँसम्म ल्याइदिने र कति बस्ने हो बसिसकेपछि लिन आउँछ अनि घर जाने गरेको उनले बताइन् । उनले भनिन्, ‘वर्षको एक पटक यहाँ आएर तातोपानीमा डुबेपछि आनन्द हुन्छ । 

नत्र छालामा केही देखिँदैन तर चिलाउने हुन्छ । यहाँ डुबेर निको हुन्छ । त्यसैले म त वर्षको एक पटक समय मिलाएर आउने गर्छु ।’ तातोपानीमा डुबेर फर्किएपछि भने निको हुने उनको भोगाइ छ । यहाँको पानीमा निको पार्ने शक्ति भएको उनले बताइन् । पुन मगरले भनिन्, ‘अस्पताल गएर पनि निको नभएको छालाको समस्या यहाँको तातोपानीले निको हुन्छ ।’ 

 उनले जस्तै बाग्लुङ तमानखोला गाउँपालिका–६ भिमबहादुर रसाइली र झकबहादुर रसाइली पनि तातोपानीमा डुब्दा र नुहाउँदा निको हुन्छ भनेर नै यहाँको कुण्डमा डुब्न वार्षिक रुपमा आउने गरेका बताए । उनले  भने, ‘यहाँबाट टाढा भए पनि वर्षमा एक पटक तातोपानी आउँछौं । 

मर्केको, सड्केको दुखाई निको हुन्छ । हामी त बुढा भैसक्यौं । यहाँ नुहाउँदा राम्रो भएको छ ।’ उनीहरु जस्तै देशका विभिन्न स्थान र भारतबाट पनि यहाँको तातोपानी कुण्डमा डुब्न आउने गरेका छन् । यहाँको तातोपानीमा डुब्दा विभिन्न रोग पनि निको हुने गरेका सेवाग्राही बताउँछन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal