Skip to content
Prabhu

अप्रत्याशित बुझाउनु परेको कर, खराब ऋणले बैंकहरुलाई पुँजीकोषमा दबाब

global
अर्घाखाँची सिमेन्ट

काठमाडौं । कुमारी बैंकले गतवर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिन सकेन । चालु आर्थिक वर्षको नाफाबाट पनि कुमारीले आउने वर्ष लाभांश दिन सक्ने छैन ।
यसको कारण हो कुमारी बैंकको प्राथमिक पुँजी साढे ८ प्रतिशतबाट तल हुनु । कुमारी बैंकले सार्वजनिक गरेको बासेल ३ डिस्क्लोजर अनुसार कुमारी बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.०३ प्रतिशत छ । 
बैंकहरुले हरेक महिना प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशतभन्दा माथि राख्नुपर्छ । साढे ८ प्रतिशतभन्दा तल प्राथमिक पुँजीकोष पुगेमा राष्ट्र बैंकले लाभांश बाँड्न रोक लगाउने गर्छ ।
बैंकरहरुका अनुसार कुमारी बाहेक थप दुई वाणिज्य बैंकको प्राथमिक पुँजीकोष अनुपात चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतभन्दा तल झरेको छ । तर,बैंकहरुले हरेक महिनाको विवरण सार्वजनिक नगर्ने हुँदा यसको जानकारी भने आएको छैन । अहिलेसम्म सार्वजनिक भएको विवरणमा कुमारी बैंकको मात्र साढे ८ प्रतिशतभन्दा तल प्राथमिक पुँजीकोष अनुपात रहेका छ । 
वाणिज्य बैंकहरुमा विगतमा बलियो पुँजीकोषमा रहने नबिल बैंकलाई पछिल्लो समय यसको दवाव छ । अप्रत्याशित रुपमा सरकारले लगाएको बार्गेन कर तिर्नु परेको,नगद लाभांश दिएको तथा ऋणको ब्याज र किस्ता नउठ्दा पुस मसान्तमा प्राथमिक पुँजीकोष अनुपात ८.९३ प्रतिशतमा पुगेको छ ।
नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दियो भने बार्गेन कर अन्तर्गत एक अर्ब ६२ करोड तिनुपर्ने अवस्था आयो । पुस मसान्तको तथ्यांक अनुसार नबिल बैंकको कर्जा निक्षेप अनुपात ८४.९५ प्रतिशत छ । कर्जा दिने स्पेश भएपनि पुँजीकोष अनुपात घट्दो क्रममा रहेको हुँदा अहिले नबिलको रणनीति कर्जा बढाउनेमा नभएर कर्जा असुलीमा छ । 
बैंकरहरुका अनुसार यो पटक बैंकहरुमा ऋण दिन सक्ने प्रयाप्त तरलता भएपनि अनपेक्षित रुपमा बुझाउनु परेको कर दायित्वले गर्दा पुँजीकोषको दवाव रहेको छ । जसले गर्दा ऋण विस्तार गर्न कठिनाई हुने गरेको छ । 
नेपाल बैकर्स संघका उपाध्यक्ष एवम् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला अनपेक्षित रुपमा बुझाउनु परेको करले गर्दा बैंकहरुलाई पुँजीकोषमा दबाव रहेको बताउँछन् । 
सरकारले चालु आर्थिक वर्षमा मर्जर, प्राप्तिबाट हुने लाभ (बार्गेन पर्चेज) र प्रिमियम मुल्यमा जारी गरेको एफपिओ अन्तर्गत १० अर्बभन्दा बढी रकम बुझाएका थिए । बैंकहरुमा रिजर्भमा रहेको १० अर्ब रुपैयाँ घट्दा पुँजीकोषमा दवाव परेको हो । 
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक सबैले अहिलेसम्म बासेल डिस्क्लोजर सार्वजनिक गरेका छैनन् । तर,सार्वजनिक भएका बैंकहरुको रिपोर्ट हेर्दा सबैको प्राथमिक पुँजीकोष अनुपात घटेको देखिएको छ । 
औसतमा वाणिज्य बैंकको पुँजीकोष अनुपात पुस मसान्तमा १२.६६ प्रतिशत रहेको छ । असोज मसान्तमा १२.९२ प्रतिशत रहेको थियो । 
वाणिज्य बैंकहरुको पुँजीकोष अनुपात राष्ट्र बैंकले बैंकहरुको पुँजीकोष अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । जसमा प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत हुनुपर्छ ।
 
प्राथमिक पुँजीकोष अनुपातमा बैंकको चुक्ता पुँजी, बाँड्न लागिएको लाभांश, सेयर प्रिमियम, रिजर्भ, रिटेन्ड अर्निङ, चालु वर्षको अडिट नभएको नाफालाई समेत जोडेर निकालेको रकममा स्थगित कर सम्पत्ति, अमूर्त सम्पत्ति घटाएपछि आउने रकमलाई प्राथमिक पुँजी भनेर चिनिन्छ । 
११ प्रतिशत कायम गर्नुपर्ने पुँजीकोष अनुपातमा भने बैंकहरुले निष्कासन गर्ने ऋणपत्र समेत जोड्न पाउँने व्यवस्था छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको असार मसान्तदेखि काउन्टर साइक्लिकल बफर अनुसार ०.५ प्रतिशत बिन्दुले प्राथमिक पुँजीकोष अनुपात बढ्ने छ । राष्ट्र बैंकले प्राथमिक काउन्टर साइक्लिकल बफर लगाएपछि प्राथमिक पुँजीकोष अनुपात ९ प्रतिशत कायम गर्नुपर्छ । 
जसले गर्दा १० वटा बैंकलाई प्रत्यक्ष प्रभाव पर्छ । पुस मसान्तको पुरै विवरण प्रकाशित नभएको हुँदा असोज मसान्तको विवरण हेर्दा ११  प्रतिशतभन्दा तल प्राथमिक पुँजीकोष भएका बैंकहरुमा प्रभु,नबिल,एनएमबि,सिटिजन्स,सिद्धार्थ,लक्ष्मी सनराइज,कुमारी,माछापुच्छ्रे,एनआईसी एशिया,हिमालयन बैंक रहेका छन् । 


Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal