Skip to content
Prabhu

काठमाडौं महानगरपालिकाद्वारा बिमितलाई प्रथम सेवा ५ वटा वडाबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ ।  

त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ । कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति कमल भट्टराईका अनुसार सुरुका पाँचवटा वडाबाट सेवा दिने र केही महिनापछि महानगरमा रहेका ३२ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य सेवा केन्द्रबाट बिमितलाई सेवा प्रवाह गर्ने तयारी रहेको छ ।  

स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न गत पुस ११ गते महानगर र स्वास्थ्य बिमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । बिमितहरुका लागि प्रथम सेवा विन्दु कामपाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत गरिने भए पनि रोगको प्रकृति र आवश्यकता हेरेर थप उपचार अन्य सरकारी अस्पतालमा समेत पठाइने महानगरले जनाएको छ । 

   

बिमितहरुले बिमा गरेको अवधि तीन महिना पुगेपछि १ लाख बराबरको स्वास्थ्य उपचार सेवा लिन पाइने महानगरले जनाएको छ । बिमाअनुसार उपचार प्रप्त गर्नका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँ रकम तिनुपर्ने छ । उक्त सुविधा नेपाली नागरिक जोसुकैले पनि लिन सक्ने कामपाले स्पष्ट पारेको छ ।    

बिमा गरेकोप्रति पाँचजनाको परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा उपलब्ध हुनेछ । सो बराबरको रकम बीमा बोर्डले कामपाअन्तर्गत रहेको प्रवर्द्धन केन्द्रलाई सोधभर्ना गर्नेछ । 

स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने बताइएको छ । ३२ वटै वडाका लागि बिमा दर्ता सहयोगी छनौट कार्य सम्पन्न भइसकेको छ । 

कार्यक्रम सञ्चालनका लागि जनप्रतिनिधि, कर्मचारी र दर्ता सहयोगीलाई स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि तत्काल सुरु गर्ने कामपाको तयारी रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal