Skip to content
Prabhu

मानुङकोटले देशकै पर्यटनमा योगदान पुर्‍याउँछः मन्त्री आचार्य

nabil

दमौली । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानुङकोटले देशकै पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने बताएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको सातौं व्यास नगर अल्ट्रा म्याराथनको व्यास नगरपालिका–५ मानुङकोटमा उद्घाटन गर्दै मन्त्री आचार्यले मानुङ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने उल्लेख गरे । 

उनले भने, ‘पछिल्लो समय मानुङकोट देश तथा विदेशमा प्रख्यात भइरहेको छ । यसले तनहुँको मात्रै समृद्धिमा टेवा दिँदैन देशकै समृद्धिमा योगदान दिन्छ ।’ मानुङकोेटमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सङ्घ सरकारको समेत यसमा समर्थन रहने बताए ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गरिएको बताए । प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उनको भनाइ छ । 

उनले भने, ‘खाली खेलाडीलाई दौडाउन मात्र होइन, यस ठाउँको प्रचारप्रसार गर्दै विकास अभियानमा सङ्घ र प्रदेश सरकारलाई जोड्न चाहेका छौं । मानुङकोटसम्म पुग्न कालोपत्र सडक भए पनि पुलिमराङमा अझै पनि कच्ची सडक छ । त्यहाँको बाटो पनि कालोपत्र गर्ने लक्ष्य राखेका छौं ।’

व्यास नगरपालिकाअन्तर्गतका मगर र गुरुङ गाउँ जोड्ने अल्ट्रा म्याराथन आयोजना गरिएको हो । शहीद दिवसका अवसर पारेर व्यास नगरपालिकाले आज ४४ किमी दूरीको सातौँ व्यास नगर अल्ट्रा म्याराथन आयोजना गरेको हो । 

म्याराथनमा एक सय १६ धावकको सहभागिता रहेको छ । म्याराथनमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र र प्रहरीका धावकको समेत सहभागिता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । 

प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, धादिङ, चितवन, डोल्पा, रुकुम, काठमाडौंलगायत जिल्लाबाट धावकको सहभागिता रहेको छ । व्यास नगरपालिका–५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलेंचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।

त्यसका लागि व्यास–४ रेन्ज पोष्ट, व्यास–१० खहरे, व्यास–७ पाथ्रा, व्यास–७ सत्रसय, व्यास–८ रिस्ती सोतीवेशी, व्यास–८ वडा कार्यालय, व्यास–८ गाडापानी र पुलिमराङमा चेकपोष्ट राखिएको छ । अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई ८५ हजार ८०, द्वितीय हुनेलाई ६५ हजार ८०, तृतीय हुनेलाई  ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही  १६ हजार ८० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । 

गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास–७ निवासी विशाल गुरुङले जितेको थियो । गत वर्ष ४४ किमी दूरी तीन घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गर्दै गुरुङले उपाधि जितेका हुन् । त्यस्तै गत वर्षको प्रतियोगितामा व्यास नगरपालिका–६ का सहास पन्थ द्वितीय, आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ तृतीय भएका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal