Skip to content
Prabhu

चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण

 

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालिएको हो ।

केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सम्झना पौडेलले निगालोबाट चोया र सामान बनाउने सीप सिकाउन पाँचदिने तालिम सञ्चालन गरेको जानकारी दिए । ‘छ जना महिलासहित ३० जनालाई तालिम दिएका हौँ’, उनले भने, ‘निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो डाली, थुन्से, भकारी, नाम्लो, नाङ्लो, डाम्लो बनाउन सिकाएका छौं ।’

माघ १४ गतेदेखि सुुरु भएको तालिम पाँच दिनसम्म चल्नेछ । चोयाका सामान बनाउन रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट अनिल पाइजा घराम्दी पुगेका छन् । चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ । ‘अघिल्लो पुस्ताका नागरिकको मृत्युु, नयाँ पुस्ताका युवायुवतीमा ज्ञान, सीप हस्तान्तरण नभएको र पलास्टिकबाट बनेका सामग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सीप लोप हुने अवस्थामा पुगेको छ, सामान भण्डारण र ढुवानीमा प्रयोग हुुने चोयाका सामग्री वातावरणमैत्री हुुन्छन्’, उनले भने ।

प्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकेको उनले बताए । प्रशिक्षक पाइजाका अनुसारप्रति डोकालाई  एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँ मूल्य पर्छ । साक्षरता अभियानलाई सफल बनाउन र निरन्तरता दिने क्रममा गठन भएका सामुदायिक सिकाइ केन्द्रले समुुदायस्तरमा आयआर्जन वृद्धि, क्षमता, नेतृत्व विकास, परम्परागत मौलिक सीप र कलाको संरक्षणका गतिविधि गर्दै आएका अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए । 

‘पुर्ख्यौली सीपको संरक्षण र नयाँ पुस्तामा सीपको हस्तान्तरण भएको छ’, तालिमको अनुुगमनका क्रममा सोमबार घराम्दी जानुभएका कटुवालले भने, ‘गाउँमै रहेको कच्चा पदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदूषण बढाउने प्लास्टिकजन्य सामानको आयात घटाउँछ ।’ यस्तो सीपमूलक तालिम अन्य गाउँबस्तीमा पनि आवश्यक रहेको उनले बताए । अन्नपूर्ण गाउँपालिकामा पाँचवटा सामुदायिक सिकाइ केन्द्र रहेका छन् । भुरुङ तातोपानी, खिवाङ, नारच्याङ, मण्डली र नागी सामुदायिक केन्द्र छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal