Skip to content
Prabhu

भैंसीपालनबाट यादवको मासिक आम्दानी १ लाख ५० हजार

दाङ ।   दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्यौली पेसा भैंसीपालन हो । उनले भैंसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आएका छन् । परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लगृका उनले भैंसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय १ लाख ५० हजार रुपैयाँसम्म मासिक आम्दानी गर्दै आएका छन् । 

साना–ठूला गरेर ७२ भैंसीपालन गरेका उहाँले दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको उनको भनाइ छ । उनले भने, ‘हाम्रो मुख्य आम्दानी नै भैंसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु ।’ ती भैंसीमध्ये १७ भैंसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनले बताए । 

उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताए । घरका अन्य सदस्यले पनि काममा साथ दिएको उनले बताए । विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैंसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उनले बताए । उनीसँग वैदेशिक रोजगारको समेत अनुभव छ । 

उनले भने, ‘विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा ६०–७० हजार रुपैयाँसम्म कमाई हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भैंसी बढाएर पाल्दै आएको छु । आम्दानी पनि राम्रै भइरहेको छ ।’ दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी रकम नाफा हुने गरेको उनले बताए। 

गाउँमा सबैभन्दा धेरै भैंसीपालन गर्ने किसानका रूपमा रहेका यावदले लाखौं खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरुलाई समेत सुझाव दिन्छन् । त्यसका लागि आपूmमा आत्मविश्वास हुनुपर्ने उनले बताए। उनले भने, ‘विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाई गर्न सकिन्छ ।’ 

भैंसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भने, ‘अहिलेसम्म जे–जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।’ कतैबाट सहयोग प्राप्त नभए पनि आफ्नै मेहनतले पुर्ख्यौली पेसालाई व्यवस्थित गर्दै लग्ने सोचमा रहेको उनले बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal