Skip to content
Prabhu

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल

 

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको छ ।  

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३/११ केभी क्षमताको सबस्टेसनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुुइँटेलले प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको जानकारी दिए । 

‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा परीक्षण माघ १६ गते सकिएको छ’, उनले भने, ‘सबस्टेसन वरपरका जग्गाधनीको विवादका कारण सबस्टेसन चार्ज र सञ्चालन गर्न समस्या भएको छ ।’ वितरण लाइनमा जोड्ने वातावरण भएमा एकै दिनमा सञ्चालन गर्न सकिने लुइँटेलले बताए । गत पुस २९ गतेदेखि परीक्षण सुरु गरिएको थियो ।

रातोढुङ्गामा रहेको सबस्टेसन नजिकैका जग्गाधनीले ३३/११ केभी क्षमताको प्रसारण लाइनको पाँचवटा टावर सार्न माग गर्दै तातोपानी र दरवाङतर्फ जाने ११ केभी क्षमताको वितरण लाइनमा जोड्न नदिएका हुन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजना, निर्माण व्यवसायी र प्रभावित जग्गाधनीसँग छलफल गरेर सबस्टेसन चार्ज र प्रसारण लाइन सञ्चालन गर्न पहल गरेको बताए । 

नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सुरु भएको थियो । 

चार वर्षअघिनै सम्पन्न हुनुपर्ने सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धौलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ । गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारीलगायतले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काउन पहल गरेका थिए। पछिल्लो विवाद समाधानका लागि विद्युत् प्राधिकरण, आयोजना, प्रशासन र गाउँपालिकासँग सहजीकरण गरेको मन्त्री जुग्जालीले बताए ।

रातोढुङ्गा सबस्टेसन र प्रसारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए । ‘हाल मिलनचोक सबस्टेसनबाट चारवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ’, उनले भने, ‘बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या हट्नेछ् ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal