Skip to content
Prabhu

कैलालीमा महसुल नबुझाउने ७ कार्यालयको विद्युत लाइन काटियो

कैलाली । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ। 

विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २ सय ५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम  १ करोड ५३ लाख ४९ हजार ३ सय ६५ रुपैयाँ रहेको जनाइएको छ । वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १ सय ८० ग्राहकले महसुल बुझाएका छन् । 

एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४ सय ९१ रुपैयाँ  विद्युत महसुलबापतको रकम असुली भएको उनले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले ६ लाख २ हजार ६ सय ७ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्यांकले देखाएको छ । 

लाइन काटिएका सरकारी कार्यालयबाट १ लाख ४८ हजार ६ सय ४० रुपैयाँ मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक छन् । 

वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको  ६०औं दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको छ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको जनाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal