Skip to content
Prabhu

मुस्ताङको शिन्तामणि होटल नेशनल जियोग्राफीको उत्कृष्ट होटलको सूचीमा

 

काठमाडौँ । मुस्ताङमा अवस्थित लक्जरियस होटल शिन्तामणी मुस्ताङ नेशनल जियोग्राफीको उत्कृष्ट होटलको सूचीमा समावेश गरिएको छ । गत भदौदेखि सञ्चालनमा आएको होटल नेपालका होटल तथा रिसोर्टमध्ये महंगोमध्येमा पर्छ । 

नेशनल जियोग्राफीले सन् २०२४ मा घुम्न र प्रकृति तथा पर्वतसँग रमाउन चाहेका लागि होटल सिफारिस गरेको हो । उक्त सूचीमा एसियाबाट अन्य दुई होटललाई पनि उत्कृष्टको सूचीमा समावेश गरिएको छ । श्रीलंकाको कुरुला बे, भुटानको एन्ड बियोन्ड पुनाखा लज पनि सो सूचीमा समावेश छ । 

यो होटल शेर्पा हस्पिटालिटीले एक खर्ब १० करोड रुपैयाँभन्दा बढी लगनीमा निर्माण गरी सञ्चालनमा ल्याएको हो । हाइ इन्ड टुरिस्ट ल्याउने लक्ष्य लिइ होटल सञ्चालनमा ल्याइएको हो । होटलमा एक रात बस्नका लागि एक हजार ८०० डलर तिर्नुपर्छ । 

समुन्द्र सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको यस होटलमा २९ वटा स्वीट रुम छन् भने बेडरुमबाटै निलगिरी हिमालको रेञ्ज देख्न सकिने होटलको भनाइ छ । होटलको डिजाइन बिल बेन्स्लीले गरेका हुन् । होटलले हस्पिटाटिलीका साथै घोडा सवारी, साइकिलिङ, रक क्लाइमिङ, आर्चरी, हाइकिङ, योगालगायतका सुविधा पनि उपलब्ध गराउँदै आएको छ । 

होटलले खेल तथा पदयात्रामा जाने पाहुनालाई पनि एक÷एक गाइड समेत उपलब्ध गराउँदै आएको छ । यो होटलमा बस्न कम्तीमा पाँच दिनको बुकिङ अनिवार्य हुनुपर्छ । होटलमा दुई जनाका लागि एक रात बस्नका लागि एक हजार आठ सय डलर बुझाउनुपर्छ । यो रकममा कोठाका साथै हवाई स्थानान्तरण, स्पा, खाना र पेय पदार्थ पाइन्छ ।   

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal