काठमाडौं । जिल्ला अदालत काठमाडौंले बयान सकेर दुई दिनभित्र अरुण चौधरीलाई छाड्न आदेश दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीबीआई)ले गत बिहीबार चौधरीलाई पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ ।
चौधरीलाई बिहीबार ४ दिनसम्म थुनामा राख्ने अनुमति दिएको जिल्ला अदालतले सोमबार थप दुईदिन थुनामा राखेर बयान सक्न भनेको छ ।
अदालतले प्रकाउ परेका व्यक्तिहरु प्रतिष्ठित व्यवसायी रहेको उमेर समेत एकजना ८० नाघेको हुँदा दुईदिनभित्र बयान सक्न भनेको हो ।
‘पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यस अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराई हाजिर जमानीमा छाडेर बाँकी अनुसन्धानको प्रक्रिया बढाउने आदेश दिएको छ,’जिल्ला अदालतको फैसलामा भनिएको छ ।
अदालतमा चौधरीको पक्षमा बहस गर्दै बरिष्ठ अधिवक्ता शम्भु थापाले चौधरी प्रतिष्ठित व्यवसायी रहेको र उनी कोही नभाग्ने र यसको जिम्मा आफू लिन तयार रहेको बहस गरेका थिए ।
अरुण चौधरी नेपाली कांग्रेसका सांसद् एवम् केन्द्रीय सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीका भाई हुन् । निजी क्षेत्रका संघसंस्थाले चौधरी पक्राउको विरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्