Skip to content
Prabhu

बाँसबारी जग्गा प्रकरण: च्याम्पियनको एक सेयरको मूल्यांकन कोकको १८ कित्ता र एप्पलको १३२ कित्ताबराबर !

आशीष ज्ञवाली
काठमाडौं । बाँसबारीको सरकारी जग्गा निजी बनाएको आरोपमा व्यवसायी अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले गत बिहीबार प्रकाउ गर्यो। नेपालका एकमात्र डलर अर्बपति तथा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद् एवम् केन्द्रीय सदस्य विनोद चौधरीका भाइ अरुणको पक्राउ प्रक्रियालाई निजीक्षेत्रले विरोध गरेको छ ।
चौधरी पक्राउ पर्नुअघि बाँसबारीको जग्गा सुनियोजित तरिकाले चौधरी घरानाले आफ्नो बनाएको समाचार उकालो अनलाइनले सार्वजनिक गरेको थियो। त्यससँग सम्बन्धित विभिन्न तथ्यहरु समेत समाचार श्रृंखलामा उकालोले उल्लेख गरेको थियो। त्यसमध्येको एउटा थियो – च्याम्पियन फुटवेयरको प्रतिसेयर मूल्य (एक हजार रुपैयाँ), जसको मूल्यांकनलाई नै आधार बनाएर बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा च्याम्पियनको नाममा गरिएको थियो।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा लेनदेनका लागि त्यसको मूल्यांकन प्रतिरोपनी २ लाख ५० हजार रुपैयाँका दरले कुल २५ लाख रुपैयाँ गरेर सोबराबर च्याम्पियन फुटवेयरको २५०० कित्ता सेयरसँग सट्टापट्टा गरिएको थियो।
त्यसबेला भर्खरै खडा गरिएको कम्पनीको सेयर आजभन्दा झन्डै ३८ वर्षअघिको मूल्यमा समेत प्रतिकित्ता एक हजार रुपैयाँ मूल्यांकन गरिनु त्यति स्वाभाविक देखिँदैन।
वित्तशास्त्रको ‘टाइम भ्यालु अफ मनी’को सिद्दान्त, सम्बन्धित कम्पनीको संचालन/व्यवसाय/आम्दानीको अवस्था तथा आगामी वर्षहरुको प्रक्षेपणहरु, त्यसबेलाको अन्तरराष्ट्रिय मुद्रासँग नेपाली रुपैयाँको विनिमयदर, उक्त विनिमय मूल्यका आधारमा तत्कालिन नेरु एक हजारबराबरमा संसारका कहलिएका कम्पनीको सेयरको त्यतिबेलाको कारोबार मूल्य इत्यादि पक्षलाई विश्लेषण गर्दा २०४३ सालमै च्याम्पियन फुटवेयरको प्रतिसेयर मूल्य एक हजार रुपैयाँ मूल्यांकन अस्वाभाविक देखिएको हो।
आजको मूल्यमा युनिलिभरको सेयरजत्तिकै महँगो !
वित्तशास्त्रमा कुनै पनि वित्तीय उपकरण वा कम्पनीको सेयरमा लगानी गर्नुपर्दा ‘टाइम भ्यालु अफ मनी’को मान्यतालाई आधारभूत सिद्दान्त मान्ने एउटा अभ्यास हुन्छ। यो सिद्दान्तले आजको एक रुपैयाँ लगानी भोलि (कुनै निश्चित अवधि) को कति हो र त्यसका लागि आज कति लगानी गर्नु उचित वा लाभदायक हुन्छ भन्ने आकलन गर्न सघाउँछ। यसमा लगानीको वार्षिक प्रतिफल दर/वृद्धि दर/औसत बजार ब्याजदर इत्यादिका आधारमा लगानी अवधिभरमा लगानी गरिएको वा गरिने रकमको कुल मूल्य निकालिन्छ।
यसका आधारमा यदि औसत वार्षिक प्रतिफल दर वा औसत बजार ब्याजदर १० % मान्ने हो भने २०४३ सालमा तोकिएको च्याम्पियन फुटवेयरको प्रतिसेयर मूल्य एक हजार रुपैयाँको मूल्य आजको दिनमा करिब ३७ हजार रुपैयाँ हुन आउँछ। यो मूल्य हाल नेप्सेमा सूचीकृत कम्पनीहरुमध्येकै सबैभन्दा मूल्यवान साबित बहुराष्ट्रिय कम्पनी ‘युनिलिभर’ को सेयर हाराहारीकै महँगो हो।
आजको दिनमा युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ४० हजार रुपैयाँ हाराहारी छ। अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ऐतिहासिक उच्च लाभांस (करिब १६००%) दिएपछि यस कम्पनीको सेयर मूल्यमा समेत ऐतिहासिक उछाल आएर यो विन्दुमा आइपुगेको हो।
युनिलिभर नेपालमा मात्र नभएर यसको सेयर सूचीकृत विश्वका अन्य धितोपत्र बजारहरुमा पनि ‘ब्लुचिप स्क्रिप’ मध्येमा पर्छ। कुल एक हजारभन्दा धेरै भेराइटिका वस्तु उत्पादन गर्ने युनिलिभरको बलियो वित्तीय प्रतिवेदनहरु, यसले विश्वबजारमा विस्तार गरेको व्यवसायिक साम्राज्य, बजार अधिपत्य, कारोबारको आकार, आम्दानी तथा नाफा, उत्पादन प्रविधि र अनुसन्धान तथा विकासमा गरिरहेको लगानी, यसको भविष्यमा व्यवसाय विस्तार तथा आय वृ्द्धिको सम्भावना/प्रक्षेपण इ्त्यादिको आधारमा लगानीकर्ताले देखाएको अपार भरोसाका आधारमा यो ‘ब्लुचिप स्क्रिप’ बन्नु अनौठो होइन।
नेपालमा समेत यसले सेयरधनीलाई करिब १६००% सम्म लाभांस दिएको छ। तर च्याम्पियन फुटवेयरको भने संचालन तथा उत्पादन र व्यवसायको कुनै इतिहास नै नबन्दै कागजी कम्पनी खडा हुँदै गर्दा नै प्रतिसेयर मूल्य तत्कालिन एक हजार रुपैयाँ अर्थात् आजको मूल्यमा ३७ हजार रुपैयाँ हाराहारी तोकिएको थियो। च्याम्पियन फुटवेयर तीन वर्ष हाराहारी मात्र संचालनमा रहेको थियो।
च्याम्पियनको एक सेयरको दाममा आउँथ्यो कोकको १८ कित्ता र एप्पलको १३२ कित्ता सेयर !
अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘द कोकाकोला कम्पनी’ (कोक) दशकौंसम्म संसारकै मूल्यवान कम्पनीको रुपमा कायम रह्यो। सन् २००० को मध्यबाट सूचना प्रविधि कम्पनीहरुको वाहुल्यता बढ्न थालेपछि मात्र कोकको उक्त दबदबालाई चुनौति मिलेको थियो। पछिल्लो केही वर्षयता आइफोन निर्माता अमेरिकी कम्पनी एप्पल इंक संसारको मूल्यवान कम्पनीको अग्रस्थानमा छ।
तर, जतिबेला च्याम्पियन फुटवेयरको सेयर मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ राखियो, त्यतिबेला कोक र एप्पल दुवैको सेयर अमेरिकी स्टक एक्सचेन्जमा निक्कै सस्तोमा कारोबार भइरहेको थियो। २०४३ साल भदौ १५ गते अर्थात् सन् १९८६ अगस्ट ३१ मा नास्डाकमा आजको सर्वाधिक मूल्यवान कम्पनी एप्पलको प्रतिकित्ता अन्तिम कारोबार मूल्य थियो ०.१२ अमेरिकी डलर,अर्थात् त्यसबेलाको विनिमयदर अनुसार नेपाली एक हजार रुपैयाँमा एप्पलको १३२ कित्ता सेयर आउँथ्यो।
यस्तै, त्यसबेलाको सर्वाधिक मूल्यवान कम्पनी कोकाकोला, जसको व्यापार तथा वितरण सञ्जाल संसारभरमै सबैभन्दा बलियो थियो र आज पनि मानिन्छ,को सेयर न्युयोर्क स्टक एक्सचेन्जमा २०४३ साल भदौ १५ गते अर्थात् सन् १९८६ अगस्ट ३१ को दिन प्रतिकित्ता ०.८७ डलरमा अन्तिम कारोबार भएको (एडजस्टेड क्लोजिङ प्राइस) थियो। यसअनुसार, त्यसबेलाको विनिमयदरमा नेपाली एक हजार रुपैयाँमा द कोकाकोला कम्पनीको १८ कित्ता सेयर आउँथ्यो।

यस्तो थियो त्यसबेलाको विनिमय दर

नेपाल राष्ट्र बैंकको अभिलेखअनुसार सन् १९८८ (२०४४-४५ साल) मा विनिमय दर १ अमेरिकी डलरबराबर ६३ नेपाली रुपैयाँ थियो। बाँसबारीको १० रोपनी जग्गाको लेनदेन भएको साल २०४३ को मध्यतिर पनि विनिमय दर सोही हाराहारीमा नै रहेको मान्दा पनि च्याम्पियन फुटवेयरको एक कित्ता सेयर मूल्यांकन त्यसबेलाको १६ अमेरिकी डलर बराबर हो।
त्यसबेलाको हालको संसारकै मू्ल्यवान कम्पनीहरुको तत्कालिन प्रतिकित्ता सेयर मूल्यसँग तुलना गरेर हेर्ने हो भने पनि बाँसबारीको जग्गासँग सट्टापट्टा गरिएको च्याम्पियनको प्रतिकित्ता सेयरको मूल्यांकन अत्याधिक महँगो रहेको देखिन्छ।
त्योबेला अमेरिकामा द कोकाकोला कम्पनीको सेयर मूल्य प्रतिकित्ता ०.८७ अमेरिकी डलर जति थियो । अर्थात्, एक हजार रुपैयाँ (वा १६ अमेरिकी डलर) मा कोकाकोलाको १८ कित्ता खरिद गर्न सकिन्थ्यो।
यस्तै, तत्कालिन विनिमय दर (१ अमेरिकी डलरबराबर ६३ नेपाली रुपैयाँ)को हिसाबले एक हजार रुपैयाँ (वा १६ अमेरिकी डलर) मा एप्पलको ८ कित्ता खरिद गर्न सकिन्थ्यो।
यसहिसाबले हेर्दा च्याम्पियन फुटवेयरको मूल्य विश्वकै मूल्यमान मानिएको कोकाकोलाको भन्दा १८ गुणा बढी र एप्पलको भन्दा १३२ गुणा बढी हुनु पक्कै पनि सामान्य होइन। किनकि ती दुवै कम्पनीहरु संचालनमा थिए भने दुवैको व्यवसायले स्थानीय वा अन्तरराष्ट्रिय बजारमा एउटा आकार बनाइसकेको थियो।
कोकाकोला र एप्पलको करिब ३८ वर्षअघिको मूल्यसँग च्याम्पियन फुटवेयरको तत्कालिन मूल्यलाई तुलना गर्नु कतिपयलाई असान्दर्भिक पनि लाग्न सक्ला। तर के च्याम्पियनको तत्कालिन खुद मूल्य (नेट वर्थ) कोकाकोला र एप्पलकै बराबर थियो त? के च्याम्पियन आज पनि संचालनमा रहिरहेको भए उक्त मूल्यलाई सही साबित गर्ने गरी कोकाकोला र एप्पलकै जस्तो व्यवसाय विस्तारको लय र बाटोमा हुन्थ्यो होला त? त्यो सम्भावना टाढाटाढासम्म देखिँदैन।
यसैले, सरकारी जग्गाको लागि च्याम्पियन फुटवेयरले त्यसबेला सेयर मूल्य नै अस्वभाविक राखेको आंशकालाई माथि गरिएका तथ्यगत विश्लेषणले बल दिएको छ।
बाँसबारीको जग्गासँग सेयर सट्टाको पृष्ठभूमि
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले चौधरी पक्राउपछि आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानको क्रममा चौधरीसहितका व्यक्तिले गलत तरिकाले सरकारी सम्पत्ति निजीमा ल्याएको हुँदा अनुसन्धानको लागि पक्राउ गरेको जनाएको छ ।
तत्कालिन श्री ५ को सरकारको नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गा तत्कालीन सरकारले निर्णय गरेर बाँसबारी छाला जुत्ता उद्योगलाई दिएको थियो ।
बाँसकारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेका सीबीआईका प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यले सरकारी तहबाट निर्णय नगरीकन सरकारी जग्गा व्यक्तिगत बनाएको बताएका छन् ।
चौधरी परिवारमा भागबण्डा हुँदा अहिले सो जग्गा स्वामित्व अरुण चौधरीको कम्पनीमा आएको छ । सोअनुसार प्रहरीले अरुण चौधरीसहित जग्गा दिनेबेला बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन अध्यक्ष अजित नारायण सिंह थापा, र च्याम्पियन फुटवेयर प्रालि तथा सीजी चाँदवाग रेसिडेन्सी प्रालिका संचालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal