Skip to content
Prabhu

धितोपत्र बोर्डको अध्यक्षः व्यवसायिक व्यक्तिलाई छैन चासो, बिचौलिया नै हाबी !

काठमाडौं । दुईवर्ष अगाडि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा निकट व्यक्तिबाट धितोपत्र बोर्डको अध्यक्ष बन्न राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई अफर गयो । 

प्रस्ताव आउदा सकारात्मक बनेका भट्ट आवेदन खुल्ने बेला भने आवेदन प्रक्रियामा नै सहभागी नहुँने निर्णय लिए । यसको कारण थियो बोर्डको अध्यक्षमा रुपमा पर्न सकिने विवाद र यसले करिअरमा पुर्याउने क्षति । 

धितोपत्र बोर्डमा एमालेको सरकार हुँदा राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना चारवर्षको लागि नियुक्त भएका थिए । तर,सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा परेपछि उनको पद निलम्बन भयो । त्यसपछि देउवा सरकारले धितोपत्र बोर्डको अध्यक्षमा थाइल्याण्डमा पढेका व्यवसायी रमेश हमाललाई अध्यक्ष बनायो । 

हमाललाई अध्यक्ष बनाउन एउटा व्यवसायिक ग्रुपले समर्थन गरेको थियो । सिधा भाषामा भन्दा लगानी । हमाल अध्यक्ष बन्दा दुईवटा काम गर्नेपर्ने थियो एउटा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स अर्को कमोडिटि एक्सचेञ्जको लाइसेन्स । 

हमालले घाटामा रहेका र कमजोर कम्पनीलाई सर्वसाधारणमा सेयर जारी गर्न नियम संसोधन गरे भने नाफामा रहेका विशेष ऐन अन्तर्गत स्थापित भएका कम्पनीलाई समेत प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने नियम परिवर्तन गरे । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगलाई हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ । 

हमालको दुईवर्षे कार्यकाल सकिएको एक महिनाभन्दा बढी हुँदापनि अहिलेसम्म सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गरेको छैन । गत पुस २० मा हमालको कार्यकाल सकिएको थियो । सरकारले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । तर,समितिले अहिलेसम्म सार्वजनिक सूचना निकालेको छ । 

सूचना अहिलेसम्म निस्कन नसक्नुको कारण हो धितोपत्र बोर्डमा व्यवसायिक घराना हाबी । अहिले धितोपत्र बोर्डमा कसलाई अध्यक्ष बनाउने भनेर खास गरेर नाम चलेका व्यवसायिक ग्रुपबीच प्रतिस्पर्धा छ । 

यसरी प्रतिस्पर्धा हुनुको पछाडि मुख्य कारण हो नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स । नेपालमा विगतमा कमोडिटी एक्सचेञ्ज सञ्चालनमा रहेपनि कानुन आएपछि सबै अवैधानिक भए । बोर्डले अहिलेसम्म लाइसेन्स नै दिन सकेको छैन । यसरी लाइसेन्स दिन नसक्नुको पछाडिको कारण हो व्यवसायिक ग्रुपबीच भएको प्रतिस्पर्धा । 

दैनिक अहिले औसतमा ५ अर्बको सेयर कारोबार हुन्छ । अझ बजार बुलिस ट्रेण्डमा भएको बेला २० अर्बसम्मको कारोबार भएको थियो । आइपीओ भर्नेको संख्या १५ लाख पुगेको छ । दैनिक सेयर कारोबार गर्नेहरु दुई लाखजति छन् । सेयर बजार पुँजीकरण ३२ खर्ब पुगेको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन नसक्दा सरकारल सेयर बजार प्रति संवेदनशिल नभएको सन्देश लगानीकर्तामा पुगेको छ । 

नेपालमा नेपाल स्टक एक्सचेञ्जको विकल्पमा अर्को स्टक एक्सचेन्ज चाहिने वा नचाइने भन्नेमा बहस हुन थालेको डेढ दशकभन्दा भइसक्यो । तर,लाइसेन्स दिने कि नदिने भन्नेमा ठूलो विवाद छ । यदी लाइसेन्स दिएमा लाइसेन्स पाउने व्यवसायीहरु खुसी हुन्छन् नपाउनेले चर्को लबिङ गर्छन् । 

‘धितोपत्र बोर्डको अध्यक्ष अहिले कमाउने अड्डा हो,यसमा प्रोफेशनभन्दा बिचौलिया नै हाबी छन्,’बोर्डका एक कर्मचारीले भने,‘बोर्डमा विगतमा अध्यक्ष हुनेले बैंकले ल्याउने ऋणपत्रमा समेत घुष मागे,अब पैसाको चलखेल गर्ने नै आउने हुन्।’

सेयर बजारको नियमनकारी निकाय रहेको धितोपत्र बोर्डमा गठबन्धन सरकारमा पनि कसको भागमा पर्ने भन्नेमा सहमति भएको छैन । सरकारको नेतृत्व गरेको माओवादी र नियुक्ति समितिको संयोजक उपाध्यक्ष भएको हुँदा माओवादी आफू समर्थकलाई अध्यक्षम निुयक्त गर्न चाहन्छ । मन्त्रालयको जिम्मेवारी कांग्रेसले लिएको हुँदा कांग्रेसमा पनि अध्यक्ष पद छाड्न नहुँने चर्को दवाव छ । जसको कारण समितिले अहिलेसम्म आवेदन खुलाउन सकेको छैन । 

बोर्डमा अध्यक्ष नहुँदा सार्वजनिक निष्कासनको काम ठप्प भएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal