Skip to content
Prabhu

दोस्रो ‘नेपाल–जापान फ्रेन्डसिप समिट २०२४’ काठमाडौंमा सम्पन्न

काठमाडौं। दोस्रो ‘नेपाल–जापान फ्रेन्डसिप समिट २०२४’ सम्पन्न भएको छ। लिड एक्स नेपाल, फोर्थ भ्याली कोइन्साइज कर्पोरेसन जापान र आइडिया स्टुडियो नेपालको संयुक्त आयोजनामा सम्मेलन सञ्चालन गरिएको हो।सम्मेलनमा जापानी प्रतिनिधिले नेपालमा लगानी सम्भावना अन्वेषण गर्न विभिन्न सरकारी र निजी संस्था, विश्वविद्यालयका साथै विभिन्न संस्थाको अवलोकन भ्रमण गरेका थिए। 

यस्तै, उनीहरुले अर्थ, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा मन्त्रालय, लगानी बोर्ड, पर्यटन बोर्ड, आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका प्रतिनिधिलगायत ६ सय जनासँग भेटघाट र छलफल गरेका थिए। यस वर्ष शिजुओका प्रिफेक्चरल सरकारका प्रतिनिधिका साथै २१ ठूला जापानी कम्पनीका लगानीकर्ताको सहभागिता थियो। जापानबाट इन्डस्ट्रियल ग्रोथ प्लेटफर्मजस्ता २१ विभिन्न कम्पनीको सहभागिता हुँदा नेपालबाट १ सय  कम्पनी र संगठन उपस्थित थिए।

चार दिनसम्म सञ्चालन भएको सम्मेलनको पहिलो दिन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा शिवलाल भुसालले जापानी प्रतिनिधिको स्वागत गर्दै दुई देशबीचको सामाजिक, आर्थिक सम्बन्ध बलियो बनाउन र शिक्षा क्षेत्रमा नयाँ प्रविधि सहयोगका लागि आग्रह गरेका थिए।  त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशीले शैक्षिक क्षेत्रमा प्रविधि प्रयोगमा सहकार्य र अन्वेषण भए नेपालमा ब्रेन ड्रेनको समस्या समाधान गर्न सकिने औंल्याए।

विज्ञान तथा प्रविधि संस्थानका डीन प्राडा बिनी अर्यालले त्रिभुवन विश्वविद्यालयको इतिहास र अहिलेको अवस्थाबारे जापानी प्रतिनिधिलाई जानकारी दिइन्। स्कुल अफ म्यानेजमेन्ट त्रिविका निमित्त निर्देशक डा। गोविन्द तामाङले विभिन्न संस्थासँगको सहकार्यबारे जानकारी गराए।

अर्थमन्त्री डा. प्रकाशशरण महतबाट भएको सम्मेलन उद्घाटन अवसरमा सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजनामन्त्री  नरेशकुमार शाही र नेपालका लागि जापानी राजदूत किकुट्स युताकाको सहभागी थिए।।अर्थमन्त्री महतले नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई आह्वान गरे। त्यसका लागि सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्न लागेको उनले जानकारी दिए।

जापानी राजदूत किकुट्स युताकाले नेपालको प्रविधि, ज्ञान र लगानी विकासमा जापानको सहयोग निरन्तर हुने विश्वास दिलाए। सम्मेलनको दोस्रो दिन जापानी टोलीलाई विभिन्न निजी तथा सरकारी संस्थामा व्यावसायिक भ्रमणका सार्थ लिप फ्रग टेक्नोलोजी, मिड भ्याली कलेज, ग्लोबल एकेडमी अफ हस्पिलिटी एन्ड म्यानेजमेन्ट, गेटा कलेज, सगरमाथा इन्जिनियरिङ कलेजलगायत भ्रमण गराइएको थियो।

उक्त अवसरमा लिड एक्स नेपाल, फोर्थ भ्याली कोइन्साइज कर्पोरेसन र लिप फ्रग टेक्नोलोजीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। आइडिया स्टुडियो नेपालको त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वव्यापी आप्रवासीका लागि इन्क्युबेसन सेन्टर सञ्चालन गर्ने योजना छ।

सम्मेलनमा पर्यटन बोर्डले नेपालको पर्यटनसम्बन्धी जानकारी दिन नेटवर्किङसहितको रात्रिभोज, आइडिया स्टुडियोले स्टार्टअप क्षेत्रमा भइरहेको नवीन व्यवसायबारे विमर्श र अन्वेषण प्रस्तुतिका संगीतसहितको नेटवर्किङ र रात्रिभोज आयोजना गरेका थिए। 

नेपाल पर्यटन बोर्डको साझेदारी र नेपाल उद्योग परिसंघ, त्रिभुवन विश्वविद्यालय, लिपफ्रग टेक्नोलोजी र मिड भ्याली कलेज साथै होटल र्‍याडिसनको सहयोगमा गत जनवरी ३१ देखि फेब्रुअरी ४ सम्म काठमाडौंमा समिट भएको हो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal