Skip to content
Prabhu

संकटमा पुगेको अर्थतन्त्र लयमा फर्कियोः प्रधानमन्त्री

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताएका छन् ।

नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौं नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको स्पष्ट पारे।

‘अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्’, उनले भने, ‘देश र विदेशका विभिन्न निकाय तथा सरोकारवालासँग निरन्तरको बहसका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको थुप्रै प्रयासले सङ्कटमा पुगेको अर्थतन्त्र लयमा ल्याउन सफल भएका हौँ ।’

तेह्र महिनाअघि आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा  कमजोर भएपनि अशिले अर्थतन्त्रमा निकै सुधार भएकाले यही क्रम रहेमा विस्तारै मुलुकलाई समृद्धितर्फ लैजान सकिने प्रधानमन्त्री दाहालको विश्वास छ ।

‘अहिले बैंकको ब्याजदर घट्दै गएको छ । पर्यटनको आवागमनमा सुधार तथा राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि हुँदै विदेशी मुद्राको सञ्चिती इतिहासमा नै सुधार गरेर एक वर्षलाई पुग्ने बनाएका छां’, उनले भने, ‘रेमिट्यान्समा ३० प्रतिशत वृद्धि, जग्गाको कारोबार चलायमान र जलवायु परिवर्तनको कारण पुगेको असरलाई प्रतिरक्षा गर्न प्राप्त अन्तर्राष्ट्रिय सहयोगको आकार बढाउँदै ल्याएकाले कमजोर बनेको अर्थतन्त्र लयमा फर्किएको हो ।’

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माणको कार्य प्रारम्भ भएकाले सुध्रिएको अर्थतन्त्रको कारण उत्पादन, रोजगार र जनमुखी बजेट ल्याउन केन्द्रित हुने प्रधानमन्त्री दाहालले उल्लेख गरे । उत्पादन र रोजगारका निमित्त कृषि क्षेत्रको विकासलाई आधुनिकीकरणतर्फ लम्काउने प्रयासमा वर्तमान सरकार सक्रियरूपमा लागिरहेको उनको भनाइ थियो । पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीन र भारतीय  समकक्षीसँग छलफल भइरहेकाले देशको विकास र समृद्धि छिट्टै नयाँ चरणमा प्रवेश गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal