काठमाडौं । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवं आधुनिकीकरणका लागि महत्वपूर्ण मानिएको मकवानपुरमा निर्माणाधीन चार सय केभी क्षमताको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा सो सबस्टेसन निर्माणाधीन छ । हेटौंडा सबस्टेसनमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् ।
एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेसनका उपकरणको जडान, परीक्षणलगायत अन्तिम चरणका काम भइरहेका छन् । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति गरिनेछ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ ।
निर्माण अनुगमनमा पुग्नुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पछिल्लो समयमा सवस्टेसनको काम सन्तोषजनक देखिएको बताए । कार्यकारी निर्देशक घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेका थिए। घिसिङले एक महिनाभित्रमा सबस्टेसन सञ्चालनमा ल्याउने गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिए ।
सरकार र विद्युत् प्राधिकरणको लगानीमा हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी सवस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००/२२० केभी हेटौंडा सवस्टेसनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । त्यसको क्षमता नौ सय ४५ एमभिए छ ।
धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चार सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सवस्टेसनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौँडा सवस्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।
आयोजनाअन्तर्गत नै ढल्केबर र इनरुवामा ४००/२२० केभीका सवस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । हेटौंडा र इनरुवा सवस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा २२०÷१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।
सबस्टेसनमा एक सय ६०÷१६० एमभिएका दुई पावर ट्रान्सफर्मर छन् । ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी बाँकी रहेको काम गर्न २०७५ पुसमा नयाँ ठेक्का सम्झौता गरिएको थियो । आयोजनाअन्तर्गत नै धनुषा र इनरुवामा २२० केभीका सवस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजना सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सुरु गरिएको हो ।
हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत १३२/११ केभी हेटौंडा सवस्टेसन निर्माण गरिएको हो । यो सबस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्ति गरिनेछ । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्