Skip to content
Prabhu

धनुषा र सिरहा जोड्न झोलुङ्गे पुल हेर्नेको घुइँचो

धनुषा । धनुषा र सिरहालाई जोड्ने एक हजार पाँच सय दशमलव ४४ मिटर लामो कठाल मल्हनिया मल्टिस्पान झोलङ्गे पुल हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ । 

करिब दुई साताअघि निर्माण भई सञ्चालनमा आएको उक्त पुल हेर्न नेपाल र भारतबाट सयौंको सङ्ख्यामा मानिस आउने गरेका छन् । दैनिक पाँच सयदेखि आठसयको हाराहारीमा पुल घुम्न मानिस आउने गरेको धनुषा जनकनन्दनी गाउँपालिका–६ कठालका बिल्टु मण्डलले बताए । नदी र बालुवा बाहेक केही नभएको झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतको सहजतासँगै यस क्षेत्र भरिभराउ देखिन थालेको उनको भनाइ थियो ।

मण्डलले भने, ‘पुल वरिपरि धमाधम पसल खुल्दैंछन् । यसले गर्दा स्थानीय बासिन्दाको आम्दानीको स्रोत बन्दै गएको छ ।’ पुल हेर्नका लागि अहिले आसपासका गाउँबाट मात्रै होइन छिमेकीमूलुक भारतको मधुवनी जिल्लाका जयनगर, भदौर, देउधा, हरिने हरलाखी, अकोन्हा, उछाल, बेलालगायतका दर्जनौं ठाउँबाट मानिस आउने गरेका पुलको सुरक्षामा खटिनुभएका प्रहरी चौकी बलहा गोठ बनरझुल्लाका इन्चार्ज शर्मा प्रसाद यादवले जानकारी दिए । 

‘जहिया स पुल्ला बैन सुरु भेलैया, तहिया स गाममे मुरही कचरीके नस्ताके दोकान चल्बे नै करै छल (जहिलेदेखि पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भयो । तबदेखि गाउँमा रहेको मुरही कचरीको नास्ता पसलमा बिक्री कम हुदैँन)’, जनकनन्दनी–६ कठालमा मुरही कचरीका पसल थापेकी गीतादेवीले भने । पहिले गाउँमा दुई हजार रुपैयाँ देखि दुई हजार पाँचय रुपैयाँसम्मको बिक्री हुनेमा अहिले कम हुँदै गएको उनले बताए । 

गाउँमा बिक्री कम हुन थालेपछि पुलको शिरमा चप, कचरी, मुरही र जिलेबी बेच्न थालिएको गीतादेवीले बताए । यहाँ पसल थापेपछि पुनः दैनिक दुई हजारदेखि तीन हजारसम्म आम्दानी हुने गरेको उनले बताए । 

यो पुलको भार क्षमता पाँच सय ४० मेट्रिक टन र तीन हजार आठ सय ८६ पैदलयात्रीको रहेको छ । सम्झौता मिति भन्दा छ महिना अगावै निर्माण कम्पनीले काम सम्पन्न गरेको छ ।

टावरमा सोलार प्यानल जडान

पुलमा रातिको समयमा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले सोलार प्यानल जडान गरिएको छ । पुलमा छ वटा सोलार प्यानल जडान गरिएको पुल निर्माणमा स्वयंसेवकका रुपमा खटिएका इन्जिनियर विनोदकुमार मण्डलले बताए। 

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका भौतिक पूर्वाधार विकास निर्देशनालय जनकपुरधामको सहयोगमा पुलमा सोलार प्यानल जडान गरिएको उनले जानकारी दिए । उनका अनुसार दश लाखको लागतमा उक्त सोलार प्यानल पुलको छ वटै टावरमा जडान गरिएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal