Skip to content
Prabhu

नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु हुँदै

नेपालगञ्ज । नेपालगञ्ज–जनकपुर हवाई सेवा यहीँ सातादेखि सुरु हुने भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिए । यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।  

अध्यक्ष सिग्देलले यति एयरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रुपमा आठ हजार पाँच सय रुपैयाँ भाडा कायम भएको जानकारी दिँदै उडान अवधिको समय १ः३० निर्धारण गरिएको बताए । उनका अनुसार विभिन्न सरोकारवाला संघसंस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि ३० लाख खर्च हुने अनुमान गरिएको छ । 

‘अहिले हामीले बाटो देखाउने कोसिस मात्रै गरेका छौँ’, अध्यक्ष सिग्देलले भने, ‘यसबाट पर्यटकको चहलपहल बढ्ने छ । साथै नेपालगञ्जको बजार चलायमान हुएर यहाँको व्यापारव्यावसाय गतिशील बन्दै जानेछ ।’

भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । उनले पर्यटन प्रवर्द्धनका लागि हवाइमार्गसँगै नेपालगञ्ज–अयोध्या अत्याधुनिक बस सेवा सञ्चालन गर्न आवश्यक रहेको भन्दै यसबाट नेपालगञ्जको वास्तविक समृद्धि हुने बताए ।  

‘भारतको अयोध्याबाट नेपालगञ्ज सबैभन्दा नजिकको सहर हो । नेपालगञ्जबाट भारतको अयोध्या एक सय ७१ किलिमिटरको दूरीमा रहेको छ’, उनले भने । नेपालका सबै पर्यटकीयस्थललाई जोडन हवाई मार्ग प्रभावकारी हुने भएकाले हवाई कनेक्टीभिटी पर्यटनको लागि सबैभन्दा सहज माध्यम भएको अध्यक्ष सिग्देलले बताए ।  

नागरिक अभियन्ता तथा अधिवक्ता विश्वराज तिवारीले हवाई मार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढ्ने बताए। उनले भारत र नेपालीबीचको सम्बन्ध थप बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि सहज हुने बताए । 

नेपालगन्जमा बागेश्वरी मन्दिर बाहेक नेपालगञ्जमा अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थलसमेत छन् । करिब एक महिनाअघि नेपालगञ्ज–जनकपुर हवाई उडान सम्बन्धमा राससले समाचार लेखेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal