Skip to content
Prabhu

पाथिभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा गत माघ एक २४ लाख एक हजार पाँच सय रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको  तथ्याङ्कानुसार माघमा छ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी २४ लाख एक हजार पाँच सय रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ । 

माघ मसान्तसम्ममा समितिको कोषमा जम्मा बैंक मौज्दात आठ करोड ९४ लाख ५४ हजार ४५ रुपैयाँ रहेको  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए ।

 गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैंपछि चैतेदसैं (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउँने गर्छन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।

पाथीभराको दर्शनसँगै कञ्चनजङ्घासहितका हिमशृङ्खलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको सुन्दरतामा रमाउनुका साथै हिउँ खेल्नका लागि यहाँ आउने पर्यटक बढेको पाथीभरा क्षेत्रमा पर्ने होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए । 

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको विर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षातको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal