Skip to content
Prabhu

सुझाव समेटेर अध्यक्ष दाहालद्वारा संश्लेषित विधान प्रस्तुत

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका छन् ।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन सकिएपछि पार्टीको पदाधिकारी बैठक बसेको थियो । बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।

विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचार अझ बढी केन्द्रित र संश्लेषित हुने बताए । उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए । अध्यक्ष प्रचण्डले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि २० समूहबाट सुझाव सङ्कलन गरिएको थियो।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ समूहबाट र आज सात टोलीबाट सुझाव प्रस्तुत गरिएको थियो । 

आज विधानमाथि सुझाव प्रस्तुत गर्दै कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी समूहबाट खसआर्यलाई हटाउनुपर्नेलगायतका सुझाव प्रस्तुत गरे।

नेता प्रेम बयकले विधानको प्रस्तावना छोटो हुनुपर्ने एवं जनउत्तरदायी पार्टी बनाउने गरी पार्टी निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । उहाँले संगठनात्मक सिद्धान्त छोटो हुनुपर्ने र मानार्थ सदस्य थप्नुपर्ने सुझाव प्रस्तुत गरे । 

नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने तथा विचारको स्वतन्त्रता र काम कारवाहीमा  एकरूपतामा राख्नुपर्ने सुझाव प्रस्तुत गरे । उनले समान पदमा दुई कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्नेमा आफ्नो समूहको जोड रहेको उल्लेख गरे ।

पार्टी केन्द्रीय सदस्य राजकाजी गुरूङले विधानको भाषा उत्कृष्ट हुनुपर्ने उल्लेख गर्दै विधान पालना गर्ने सामूहिक प्रतिबद्धता आउनुपर्ने सुझाव पेश गरे । उनले जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्ने सुझाव पेश गरे।

केन्द्रीय सदस्य रामदीप आचार्यले पार्टीलाई प्रवलीकरण हो वा पुनःनिर्माण गर्ने हो यसलाई स्पष्ट पार्नुपर्ने सुझाव दिए  । उनले निर्वाचनका लागि ठूला तहहरू हटाउनुपर्ने सुझाव दिए ।

केन्द्रीय सदस्य कृष्णध्वज खड्काले पार्टीमा वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने सुझाव पेश गरे। विभिन्न आयोगलाई प्रभावकारी तुल्याउनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उनले विषयगत दक्षता भएकालाई समेटेर सङ्गठित गर्नुपर्ने व्यवस्था गनुपर्ने बताए ।

केन्द्रीय सदस्य सुमन देवकोटाले कार्यकर्ताको सूचक निर्माण गर्नुपर्ने र सम्पत्ति सार्वजनिक गर्नुपर्ने सुझाव आफ्नो समूहको रहेको बताए । सङ्घीयताको मर्मअनुसार विधान तयार गरिनुपर्ने स्पष्ट गर्दै विभागहरु पनि विधानमै उल्लेख गर्नुपर्ने सुझाव पेश गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal