Skip to content
Prabhu

सम्पत्ति शुद्धीकरण विभागद्वार रवि र जीबीमाथि अनुसन्धान सुरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारी ठगी प्रकरणमा मुछिएका  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जितेन्द्रबहादुर राई (जीबी) माथि अनुसन्धान अघि बढाएको छ ।

नेपाल प्रहरीका विभिन्न एकाइले लामिछाने र राईमाथि अनुसन्धान अघि बढाइरहेका बेला प्रधानमन्त्री कार्यालयको प्रत्यक्षमातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन थालेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले (मनि लन्डरिङ) सम्बन्धी कसुर जाँचबुझका सिलसिलामा आवश्यक परेकाले रवि लामिछाने र जीबी राई दुवैजनाको नाममा कुनै किसिमको खाता भए नभएको विवरण दिन भन्दै नेपाल राष्ट्र बैंक तथा सबै बैंकहरूलाई परिपत्र गरेको छ।

विभागले ग्यालेक्सी टेलिभिजनका प्रबन्धन निर्देशक लामिछाने र अध्यक्ष जीबी  राईको खाता विवरण उपलब्ध गराउन बैंकहरूलाई भनेको हो। विभागले खाता खाता खोल्दा पेस गरेका कागजपत्र (केवाईसी) र खातामा रहेको मौज्दात रकमको अवस्था पनि उपलब्ध गराउन बैंकहरूलाई भनेको छ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबिआई बैंक, एनएमबी बैंक, एभरेस्ट बैंक,एनआइसी बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक,  सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक,  प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई एकसाथ पत्र लेखेर रविको सम्पत्ति विवरण मागिएको हो।

विभागले दुवैजनाले ती बैंकबाट ऋण लिएको भए त्यसको विवरण र ऋण लिँदा पेस गरेका सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि पनि मागेको छ। जीबी राईले ती सहकारीको रकम गैरकानुनी रूपमा उनी अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा लगानी गरेको विभागको आशंका छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरी ठगी गरेको अभियोगमा जीबी राईविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। १९ जनाविरूद्ध मुद्दा चलेकामा ५ जना मात्र पक्राउ परेका छन् भने उनीसहित १४ जना फरार छन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal