Skip to content
Prabhu

गाउँको उत्पादन सहरमा पुर्याउनुपर्छः मन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले गाउँगाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पुर्याउनुपर्ने बताएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले पूर्वाधारको विकास र प्राविधिक एवं आधुनिक शिक्षामार्फत गाउँको विकासमा सरकार केन्द्रित भएको बताए । 

‘विगत वर्षमा देशको राजनीतिक अन्योलता, भूकम्प, कोरोना महामारीको जोखिमलगायतका कारण विकासको गति अघि बढाउन सकिएन’, उनले भने, ‘अहिले विकासको रफ्तार सुरु भएकाले गाउँगाउँमा सडकसहितको पूर्वाधारको विकास र कृषिमा आधुनिकीकरण गरी उब्जनी बढाएर त्यसलाई सहरमा पुर्याउनुपर्छ ।’

लामो समयसम्म कमजोर बनेको देशको अर्थतन्त्र हाल सुधारको लयमा फर्किएकाले रोजगार र उद्यमशीलता बढ्ने क्रममा रहेको मन्त्री डा. महतको भनाइ थियो । सोहीअनुसार गाउँगाउँमा पूर्वाधार निर्माण र गुणस्तरीय शिक्षामा सरकार केन्द्रित भएकाले उक्त अभियान सफल बनाउन उहाँले सरोकारवाला सबैलाई आग्रह गरे।

‘शिक्षकले पाठ्यपुस्तक र नोटकपीको भरमा अध्यापन गराउने बानी हटाई प्रविधिमा आधारित शिक्षाबाट आफूले पनि पढेर विद्यार्थीलाई पढाउने बानीको विकास गर्नुपर्छ’, उनले भने, ‘भौतिक सम्पत्तिभन्दा शिक्षा नै सबैभन्दा ठूलो र अमूल्य सम्पत्ति हो । बालबालिकालाई अध्ययनमा लगनशील बनाउन अभिभावक चिन्तित हुनुपर्छ ।’

रोजगारी सिर्जना, व्यावसायिक कृषि उब्जनी र समाज परिवर्तनका लागि शिक्षित जनशक्तिको उत्पादन आवश्यक पर्ने मन्त्री डा महतले बताए । सोहीअनुसार आवश्यकताका आधारमा स्रोत र साधनले भ्याएसम्म राज्यले लगानी गर्दै आएको उनले उल्लेख गरे। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal