Skip to content
Prabhu

तनहुँमा सात महिनामा विकास बजेट १७ प्रतिशतमात्र खर्च

तनहुँ ।  चालु आर्थिक वर्षमा तनहुँमा विकास बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ । साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको छ । 

पुँजीगततर्फ सङ्घीय सरकारमार्फत  तीन अर्ब ७५ करोड ८२ लाख ७६ हजार आठ सय २९ रुपैयाँ विनियोजन भएकामा  ६३ करोड ८८ लाख ६१ हजार चार सय ९२ रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए । उनका अनुसार चालुतर्फ आठ अर्ब ७६ करोड ३६ लाख १७ हजार ६१ रुपैयाँ विनियोजन भएकामा चार अर्ब ७७ करोड ४६ लाख ६८ हजार चार सय ८२ रुपैयाँ खर्च भएको छ । यो ५४.४८ प्रतिशत हो ।

प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पुँजीगततर्फ २१।६४ प्रतिशत बजेट खर्च भएको छ । माघ मसान्तसम्ममा सङ्घ भन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका कोष नियन्त्रक भट्टराईले बताए । पुँजीगततर्फ दुई अर्ब ६२ करोड ५५ लाख १३ हजार रुपैयाँ  विनियोजन भएकामा  ५६ करोड ८२ हजार ४८ लाख  हजार दुई सय ६६ रुपैयाँ खर्च भएको उनले बताए । 

त्यस्तै, चालुतर्फ  ८३ करोड ६४ लाख ८९ हजार चार सय रुपैयाँ विनियोजन भएकामा  २६ करोड ६६ लाख दुई हजार ४७ रुपैयाँ अर्थात्  ३१.८७ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न तीन महिना लगाउने र कामको गति नबढाउनेलगायत कारणले विकास बजेटको खर्च न्यून देखिएको सो कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सात महिनामा सङ्घ र प्रदेशको गरी १८ दशमलव ९१ प्रतिशत विकास अर्थात पुँजीगत बजेट खर्च भएको छ । पुँजीगत बजेट  छ अर्ब ३८ करोड ३७ लाख ८९ हजार आठ सय २९ रुपैयाँमा  एक अर्ब २० करोड ७१ लाख नौ हजार सात सय ५९ रुपैयाँ खर्च भएको छ । यस्तै, चालुतर्फ ५२ दशमलव ५१ प्रतिशत खर्च भएको छ । चालुतर्फ  नौ अर्ब ६० करोड एक लाख छ हजार चार सय ६४ रुपैयाँ खर्च भएको कोष नियन्त्रण कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सङ्घ सरकारतर्फ  छ अर्ब ६२ करोड ७६ लाख ६२ हजार एक सय ८८ रुपैयाँ राजस्व सङ्कलन भएको छ भने प्रदेशतर्फ  १४ करोड ५२ लाख ३८ हजार पाँच सय ८८ रुपैयाँ राजस्व सङ्कलन भएको कोष नियन्त्रक भट्टराईले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal