Skip to content
Prabhu

ठूलोखोला जलविद्युत् आयोजनाको हेडरेस्ट र विद्युतगृह जोड्ने सुरुङ जोडियो

म्याग्दी ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको ठाडो सुरुङ र तेस्रो सुरुङ ब्रेकथ्रु भएको छ । 

इन्टेकबाट सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युत्गृहमा खसाल्न हेडरेस्ट आउटलेटतर्फ खनिएको एक सय तीन मिटर लामो ठाडो सुरुङ र  विद्युत्गृहतर्फबाट खनिएको चार सय ९५ मिटर लामो तेस्रो सुरुङ जोडिने कार्य सम्पन्न भएको आयोजना प्रमुख रवीन्द्र हमालले जानकारी दिए । संयुक्त ऊर्जा लिमिटेडले २०७८ मङ्सिरदेखि निर्माण सुरु गरेको उक्त आयोजनाको दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ गत मङ्सिरमा नै जोडिएको थियो । 

आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर÷त्रिपल एस जेभीले सहायक ठेकेदार कम्पनी रोकाया कन्ट्रक्सन प्रालिलाई आवश्यक जनशक्ति र मेसिन उपकरणसहित परिचालन गरेकाले आयोजनाको सबै सुरुङ खन्ने काम सकिएको उनले बताए ।

‘निर्माण सुरु भएको २२ महिनामा ७७ प्रतिशत काम सकिएको छ, सुरुङमार्गलाई फिनिसिङ गर्ने काम सुरु भइसकेको छ, विद्युत्गृह र बाँधतर्फको काम पनि तीव्रगतिमा छ, आगामी साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ’, आयोजना प्रमुख हमालले भने । सो आयोजनाको विद्युत्गृहतर्फ ९० प्रतिशत काम सकिएको छ भने हेडबक्सतर्फ ७० प्रतिशत काम सकिएको छ ।

आयोजनाको सबैभन्दा कठिन मानिने सुरुङ निर्माणको काम सकिएकाले लक्ष्यअनुसार नै आयोजनालाई पूर्णता दिन लागिपरेको आयोजना प्रमुख हमालले बताए । रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने सो आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी  छ । 

सो आयोजना सम्पन्न गर्न रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्न २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal