Skip to content
Prabhu

भैरहवामा पहिलोपटक राष्ट्रिय महिला उद्यमी सम्मेलनः ३५० महिला उद्यमीको सहभागिता

काठमाडौं । देशभरिका महिला उद्यमी सम्मिलित दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा सुरु भएको छ । ‘महिलाको लगानी, घर(घरमा उद्यमी’ नारा भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा पहिलोपटक यस किसिमको सम्मेलन आयोजना भएको हो । 

उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीहरूबारे सम्मेलनमा उपस्थित महिला उद्यमीहरूले ध्यानाकर्षण गराएका छन् । 

साथै, थोरै पुँजी लगानीबाटै स्थानीय स्रोत–साधनको परिचालन गरी व्यवसाय सञ्चालन गर्न सकिने भएकोले महिला उद्यमी एवं लघु, घरेलु तथा साना उद्योगबाट ठूलो आर्थिक उन्नतिको सम्भावना रहेको पनि उनीहरूले औंल्याएका छन् । 

सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिला उद्यमलाई लागत, खर्च र आयसँग जोड्ने बेला भएको धारणा राखे । उनले गाउँका उद्यमलाई शहरसँग जोड्नुपर्ने पनि बताए । महिलाहरूले कम्तीमा ३० हजारभन्दा माथि कसरी कमाउन सक्छन् भन्ने विषयमा लुम्बिनी प्रदेशले उद्यमशीलता कार्यक्रमका तयारी गरेको जानकारी दिए ।  

‘अहिले युवाहरू विदेशिने समस्या छ, यस्तो अवस्थामा महिला उद्यमीहरू अग्रसर भई यस्तो सम्मेलन आयोजना गर्नुलाई हामीले ठूलो अवसरका रूपमा लिएका छौं,’ मुख्यमन्त्री चौधरीले भने, ‘महिला उद्यमशिला प्रवर्द्धनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन लुम्बिनी प्रदेश तयार छ । महिला उद्यमी सफल नभएसम्म देश सफल हुँदैन ।’ मुख्यमन्त्री चौधरीले महिला सम्मेलनका निष्कर्षबारे सातै प्रदेशका मुख्यमन्त्रीसम्म पुर्‍याउने र अन्य आवश्यक पहल चाल्ने विषयमा आफुले जिम्मा लिने पनि दाबी गरे।  

प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले महिला उद्यमीहरूलाई सहयोग गर्नु प्रदेश सरकारले आफ्नो दायित्व ठानेको र त्यसलाई पूरा गर्न गम्भीर रहेको बताए । स्थानीय उत्पादनको बजार प्रवर्द्धन, ब्रान्डिङ, मार्केटिङमा सहयोग गर्नुका साथै महिला उद्यमशीलतालाई अर्थतन्त्रमा जोड्न लुम्बनी प्रदेश सरकारले पहल गरेको उनको भनाइ थियो ।

 ‘हामीले २ लाख युवालाई रोजगारी दिने लक्ष्य लिएका छौं, युवाहरूलाई उद्यमी बनाउने हाम्रो प्रयत्नमा निजी क्षेत्रको सहकार्य पनि खोजेका छौं,’ उनले भने, ‘अबको नीति तथा कार्यक्रम र बजेटमा महिला उद्यमीका लागि प्रदेश सरकारले के के विषय समावेश गर्नु उचित हुन्छ, त्यसबारे सुझाव उपलब्ध गराइदिन पनि अनुरोध गर्छु ।’

सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साना उद्योगीको प्रवर्द्धन, महिला उद्यमीको सशक्त्रीकरण र आर्थिक समृद्धिको प्रवर्द्धनसँगै दिगो व्यवसायका लागि सरकारले वातावरण तयार गर्नुपर्ने धारणा राखे । महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आवश्यक रहेको र त्यसका लागि परियोजना धितोमा कर्जा, सहुलियतपूर्ण कर्जा र पुनस्कर्जाजस्ता सुविधा सहज र प्रभावकारी बनाइनुपर्ने विषयमा महासंघले सरोकारवालाई पटक(पटक ध्यानाकर्षण गराएको श्रेष्ठको भनाइ थियो ।  

‘महिला उद्यमशिलताको बहुआयामिक फाइदा छन्, यो रोजगारी, आर्थिक वृद्धि र उद्यशिलतासँग मात्रै जोडिएको विषय होइन,’ उनले भने, ‘यो समानता र समन्यायिक समाज निर्माणको विषय पनि हो ।  हाल नेपालमा २७ प्रतिशत व्यवसाय महिलाको नाममा छन् तर यसमा सक्रियतापूर्वक लागेका महिलाको संख्या कम छ । हाम्रो समाजको समुन्नत विकास हुन नसक्नुमा यो पनि एउटा कारण हो ।’ 

महिलाको नाममा घरजग्गा राख्दा छुट दिने योजना सफल भए पनि उद्यमशीलतामा दिइएको छुटले नतिजा दिन नसकेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ थियो । ‘दर्तामा राजश्व केहि छुट भए पनि व्यवसाय निरन्तरताका लागि सहुलियत दिन सकिएको छैन,’  उनले भने,  ‘सहुलियत कर्जा पनि रोकिएको छ । 

व्यवसाय भनेको निरन्तर चल्ने प्रक्रिया हो । त्यसैले नीतिगत स्थायित्व आवश्यक छ ।’ नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै गर्दा विशेषगरि युरोप र अन्य बिकसित देशमा नेपालले पाइरहेको भन्साररहित सुविधा बन्द हुने र त्यसबाट साना र विशेषगरि महिला उद्यमीहरू बढी प्रभावित हुने विषयमा ध्यान दिन आवश्यक रहेको उनले औंल्याए ।

महासघका उपाध्यक्ष हेमराज ढकालले महिला उद्मशीलता बिकासका लागि सरकार निजीक्षेत्र मिलेर काम गर्नुपर्ने बताए । महासंघले महिला उद्यमशीलता बिकासका लागि काम गरिररहेको जानकारी पनि उनले गराए । 

महासघ लुम्बीनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकभर नै उद्यमी महिलाहरुका समस्या सुन्ने र उद्यमशीलता बिकासका लागि सहयोग पुग्ने गरी महिला उद्यमी सम्मेलन भैरहवामा आयोजना गरिएको बताउए। यसबाट संघीय राजधानी बाहिर पनि उद्यमशीलता बिकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।

त्यस्तै,  महिला उद्यमी विकास समितिकी सभापती कमला श्रेष्ठले तीनै तहका सरकार र वित्तीय पदाधिकारीहरूलाई एकै थलोमा राखेर महिला उद्यमीका अवस्था, विद्यमान नीतिगत व्यवस्था, व्यावहारिक चुनौती र समाधानका उपायबारे विमर्श गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय  उद्यमशिलतामा महिलाको सक्रिया बढ्दै गएको, श्रमशक्तीमा महिला सहभागिता वृद्धि हुनु खुशीको कुरा भएको उनले बताए ।

 ‘सन् १९७१ देखि २०२१ सम्म आर्थिक रूपमा सक्रिय दश वर्षभन्दा माथिका महिलाको जनसंख्या प्रतिशत २९.२ बाट बढेर ६०.४ प्रतिशत पुगेको छ,’ श्रेष्ठले भनिन्, ‘श्रमशक्तिमा महिला सहभागिता १ प्रतिशतले मात्रै बढ्यो भने पनि नेपालको कुल गार्हस्थ्य उत्पादनमा ०.३ प्रतशिले वृद्धि आउने कुरा छ ।‘कतिपय महिलाहरू अझै पनि आफ्ना व्यावसायकि कार्यभन्दा घरायसी जिम्मेवारी र हेरचाहमा लाग्नु चुनौती भएको उनको बुझाइ छ । 

सम्मेलन अविधिमा देशभरबाट  ३ सय ५०  महिला उद्यमी व्यवसायी तथा व्यवसाय सञ्चालनका लागि इच्छुक महिलाहरू भैरहवास्थित उद्योग वाणिज्य महासंघमा भेला हुने भएका छन् । सम्मेलनमा महिला उद्यमशिलतासँग सम्बन्धित कानुनी व्यवस्था र त्यसको कार्यान्वयन पक्षबारे ‘महिला उद्यमशीलता नीति र नजिता’ विषयमा छलफल गरिएको थियो । दोस्रो सत्रमा महिलाको वित्तिय पहुँचबारे मन्थन हुँदै गर्दा तेस्रो सत्रमा भने बजार पहुँचबारे विमर्श गरिएको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal