Skip to content
Prabhu

‘आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्छ’

काठमाडौं । उद्योगी व्यवसायीहरूले आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय व्यापार सङ्घको १९औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनको उद्घाटनमा उनीहरुले समय सापेक्ष नीति परिमार्जन हुनुपर्ने बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजस्व परामर्श समिति र सरकारका अन्य समितिमार्फत व्यवसायीलाई परेको समस्या समाधानका चेम्बरले अग्रणी भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । ‘समयअनुसार ऐन परिवर्तन हुँदै जानुपर्छ, उद्योग व्यवसायको क्षेत्रमा देखिएको समस्या समाधानमा व्यवसायी एकजुट हुनुपर्छ’, उनले भने ।

उनले छिमेकी मुलुक भारतसँग ४ खर्ब १४ अर्ब र चीनसँग एक खर्ब ४५ अर्ब रुपैयाँ व्यापारघाटा रहेको भन्दै निर्यात प्रवर्द्धनमा जोड दिए । उहाँले व्यापारिक वृद्धिका लागि सामूहिक लगानीलाई बढावा दिनुपर्ने भन्दै लगानीमैत्री वातावरण निर्माणमा लाग्नुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रपतिका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले नयाँ पुस्तालाई उद्योग–व्यवसायमा लगाउन सकिएमात्र देशको विकास हुने बताए । उनले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गरे । डा नेपालले क्षमतावान, बुद्धिमान र जोखिम मोल्न सकेमात्र व्यापार अगाडि बढाउन सकिने बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंकको चर्को ब्याजदरका कारण व्यवसायी मारमा परेको बताए । उनले  कर्जा प्रवाहको ब्याजदर एकल अङ्कमा ल्याउन सरकारलाई आग्रहसमेत गरे ।

नेपाल उद्योग संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले करका दर र त्यसका शीर्षकलाई सीमित बनाउन सरकार लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले व्यावसायिक दर्ता र कर एक ठाउँमा मात्र गर्ने व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गरे ।

राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्की, राष्ट्रिय व्यापार सङ्घका महासचिव बैकुण्ठ दाहाललगायतले देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको साना तथा मझौला व्यवसायीलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिएका थियो ।

राष्ट्रिय व्यापार सङ्घको अध्यक्षमा खराल

राष्ट्रिय व्यापार सङ्घका अध्यक्षमा हिमलाल खराल निर्वाचित भएका छ । संघको १९औँ वार्षिक साधारणसभा एवं १०औं अधिवेशनबाट खरालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

संघको प्रथम उपाध्यक्षमा रामचन्द्र पराजुली, द्वितीय उपाध्यक्षमा पदमबहादुर लामिछाने, तृतीय उपाध्यक्षमा बैकुण्ठ दाहाल, महासचिवमा केदारप्रसाद न्यौपाने, कोषाध्यक्षमा हरिप्रसाद पाण्डेय, सचिवमा सञ्जयकुमार अग्रवाल, सहकोषाध्यक्षमा विनोद तिमल्सिना र सहसचविमा मोहनीलाल न्यौपाने निर्वाचित भएका छन् । 

यस्तै सदस्यमा श्यामसुन्दर माकाजु, विनोद भण्डारी, महेन्द्र भण्डारी, सुनिल अग्रवाल, प्रवीण अग्रवाल, नारायणप्रसाद न्यौपाने, लेखनाथ गौतम, सन्तोष श्रेष्ठ, राजु कार्की र भीष्म केसी निर्वाचित भएको निर्वाचन अधिकृत दीक्षा पण्डित क्षेत्रीले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal