Skip to content
Prabhu

युरोपको ग्यासको माग २० प्रतिशतले कटौती, १० वर्षको न्यून

पेरिस । युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपले आफ्नो ग्यासको  मागमा २० प्रतिशतले कटौती गरेको र नवीकरणीय ऊर्जा तथा दक्षता वृद्धिका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को माग आगामी वर्ष उच्च हुने बुधबार प्रकाशित एक अध्ययनमा उल्लेख छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणले युरोपेली मुलुकहरूले पाइपलाइनमार्फत वितरीत रुसी प्राकृतिक ग्यासबाट ठूलो परिवर्तन ल्याए । यसमा उनीहरूले सीमति आपूर्तिका लागि अन्तर्राष्ट्रिय बजारहरूमा प्रतिस्पर्धा गर्दा एलएनजीको मूल्य बढ्यो । 

सीमित सङ्ख्यामा आयात टर्मिनलहरूका साथ युरोपेली मुलुकहरू उपभोगलाई नियन्त्रण गर्नका लागि उपायहरू लिन बाध्य भए तर उनीहरूले आवासीय हिटिङ वा बिजुली उत्पादनमा कटौती नगरी सन् २०२२–२०२३ को जाडोमा यसबाट पार पाए । 

रुसी आक्रमण सुरु भएदेखि नै मुख्यरूपमा जर्मनी, इटाली र बेलायतले चलाएको युरोपेली ग्यासको मागमा २० प्रतिशतले कमी आएको इन्स्टिच्युट फर इनर्जी इकोनमिक्स एन्ड फाइनान्सियल एनालिसिस (आइइइएफए) ले बताएको छ । यसले ऊर्जा दक्षता तथा माग व्यवस्थापन उपायहरू, मागमा उच्च मूल्यको प्रभावका साथै हल्का जाडोको तापक्रममा गिरावटलाई कम गरिदियो । 

‘युरोपले ऊर्जा सङ्कटलाई सफलतापूर्वक पार गरेको छ र ग्यासको उपयोगमा अङ्कुश लगाउन स्वयंलाई तयार गरेको छ, यसको श्रेय दक्षता उपायहरू र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई जान्छ’, आइइइएफएले भनेको छ ।

सौर्य र वायुको थप परिचालन, घरेलु हिटिङका लागि ग्यास बोयलरबाट हिट पम्पमा स्विच र अतिरिक्त दक्षता उपायहरूको अर्थ सन् २०२५ मा एलएनजीको माग उच्च हुनेछ ।

ऊर्जा बजार र नीतिहरूसँग सम्बन्धित मुद्दाको अध्ययन गर्ने अन्तर्राष्ट्रिय समूहले सन् २०२३ मा आयात स्थिर रहेको र आगामी वर्ष माग उच्च हुने सम्भावना भए पनि एलएनजी टर्मिनल निर्माणको हतार जारी रहेको बताएको छ । 

सन् २०२२ फेब्रुअरीमा आठ टर्मिनल सञ्चालनको तुलनामा सन् २०३० सम्म १३ वटा टर्मिनल सञ्चालन हुने अपेक्षा गरिएको छ । आइइइएफएले दशकको अन्त्यसम्ममा आयात क्षमता एलएनजी मागभन्दा तीन गुणा हुने जोखिममा रहेको बताएको छ । 

आइइइएफएले रुसी एलएनजीले रुसी ग्यासको एक हिस्सालाई प्रतिस्थापन गरेको बताएको छ । रुसी एलएनजीलाई युरोपले पाइपलाइनमार्फत आयात गरिरहेको थियो । सन् २०२१ र सन् २०२३ को बीचमा रुसी एलएनजी आयातमा ११ प्रतिशतले वृद्धि भएको छ । यद्यपि अमेरिकाले एलएनजी आयातमा प्रभूत्व जमाएको छ । यसबाट नयाँ निर्भरता सिर्जना हुने खतरा छ । 

‘एउटा स्रोतमा धेरै निर्भर गरेर ऊर्जा आपूर्तिको सुरक्षालाई जोखिममा पार्ने खतराहरू अनुभव गरिसकेपछि युरोपले आफ्ना विगतका गल्तीहरूबाट पाठ सिक्नुपर्छ र गत वर्ष आफ्नो एलएनजी आयातको करिब आधा लाभ हासिल गरेको अमेरिकामा अधिक निर्भर हुनबाट जोगिनुपर्छ’, आइइइएफएका प्रमुख युरोप विश्लेषक मारिया जाल्लर–मकारेभिचले भने । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal