Skip to content
Prabhu

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो देशभर नै बदली र वर्षाको सम्भावना छ । तापक्रम स्थिर रहनेछ । ‘अहिले मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको छ, दिउँसो सबै प्रदेशका एक–दुई स्थानमा भए पनि वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ’, उनले राससलाई भने ।

मौसमविद् अधिकारीले तुलनात्मक रूपमा पछिल्ला दिनमा देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी असर रहेकामा आज उक्त प्रणाली गण्डकी, बागमती हुँदै पूर्वी भेगतर्फ सरिरहेकाले बढी प्रभाव हुने अनुमान गरिएको बताए । आजभन्दा भोलि बिहीबार बढी वर्षाको सम्भावना रहेको र शुक्रबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ । मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी पहाडी भागका एक वा दुई स्थानमा मेघगर्ज र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal