Skip to content

भक्तपुर अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार

nabil bank

 

भक्तपुर ।  भक्तपुर अस्पतालले पहिलोपटक आफ्नो सुविधासम्पन्न नयाँ अस्पतालबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले राससलाई जानकारी दिए ।

बेलायत सरकारको करिब  ३४ करोड रुपैयाँ सहयोगमा निर्माण भएको सुविधासम्पन्न उक्त नयाँ भवनबाट सेवा विस्तार गरेको उनले जानकारी दिए । भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले स्तरवृद्धि गर्दै तीन सय शय्यामा विस्तार गर्ने घोषणा गरेसँगै नयाँ थप शय्या सञ्चालनको समेत तयारी गर्दै नयाँ भवनमा सेवा विस्तार गरेको मेसु डा गौतमले जानकारी दिए । 

अस्पतालको थप स्तरवृद्धि गर्दै शय्या विस्तार गर्ने भएपछि चालु आर्थिक वर्षमै प्रदेशको मुख्यमन्त्रीकै पहलमा रु आठ करोडको सिटीस्क्यान मेसिन खरिदका लागि बजेटसमेत विनियोजन गरिसकेको उनले जानकारी दिए। पुरानो भवन निकै साँघुरो भएपछि नयाँ प्रसूति वार्ड सुरु गरिसकेको भन्दै उनले अन्य अत्याधुनिक उपकरण जडानको काम भइरहेकाले अबको एक सातामा शल्यक्रिया कक्ष, १५ शय्याको आइसीयू, मोडुलार ओटी सञ्चालन गरिने बताए । मुटुरोग सेवा पनि सञ्चालनको तयारी गरिएको छ । 

रिफर सेन्टरको रूपमा परिणत हँुदै बिरामीको चाप आधा घटिसकेको यस अस्पतालमा डा गौतम मेसु भएर आएलगत्तै सेवा विस्तार तथा गुणस्तरीय सेवा सञ्चालनमा आउन थालेपछि दैनिक छ सय बिरामीको चाप पुगेको छ । पन्ध्र शय्याबाट सेवा सुरु भई ७५ शय्यामा सञ्चालन हुँदै आएको यो अस्पताललाई यसअघि पनि कोरोना महामारीकालमा तत्कालीन मेसु डा गौतमकै नेतृत्वमा सरकारले भेन्टिलेटरसहितको १५ शय्याको आइसीयूसहित एक सय ८६ शय्यामा सेवा सञ्चालन गरी महामारीमा बिरामीको सेवा गरेको थियो । 

आफ्नै नाममा १८ रोपनी चार आना जमिन हुँदाहुँदै पनि नेपाल रेडक्रस सोसाइटी, साझा औषधि पसल र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालले यहाँको जमिन उपभोग गरिदिँदा भक्तपुर अस्पताल साँघुरोमा खुम्चिएर सेवा प्रवाह गर्नुपरेको अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले जानकारी दिए । 

 साझाले अवैधरूपमा अस्पताल हाताभित्र औषधि पसल सञ्चालन गरिरहेको र हटाउने प्रयास भइरहेको भन्दै रेडक्रसले समेत औषधि पसल सञ्चालनका लागि भाडामा दिन लागेको जानकारी आएकाले त्यसलाई रोक्ने उनले बताए। गुणस्तरीय सेवा नयाँ भवनबाट विस्तार गरेपछि अब भक्तपुरका बासिन्दालई निजी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले सुनाए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime