Skip to content
Prabhu

बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक

बागलुङ । तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो ।

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्रे गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिए । उनका अनुसार चार सडक १ अर्ब १९ करोड ९२ लाख ९३ हजार रुपैयाँमा निर्माण भइरहेकामा अर्थ मन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन ।

चार सडकलाई चालू आर्थिक वर्षमा १ करोड रुपैयाँका दरले ४ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएकाले रकम अभाव भएको अधिकारीको भनाइ थियो । बागलुङ क्षेत्र नं १ को र म्याग्दीमा निर्माण भइरहेका सडकको सात करोड १२ लाख ४७ हजार रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए।

उक्त चार सडक निर्माणका लागि १ अर्ब १९ करोड रुपैयाँ बजेट आवश्यक पर्नेमा चालू आवमा रु चार करोड मात्रै बजेट विनियोजन भएकाले समस्या भएको भन्दै इञ्जिनियर अधिकारीले पटकपटक अर्थमन्त्रालयमा बजेट थप गर्न अनुरोध गरिएको जानकारी दिए ।  

‘एक निर्वाचन क्षेत्र, एक रणनैतिक सडक’ कार्यक्रमअन्तर्गत बागलुङ क्षेत्र नं १ स्थित बागलुङ बजार अदालतदेखि चौपारी–सिगाना–चापाखर्क–गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको गत वर्ष ४८ प्रतिशत भौतिक प्रगति भए पनि दायित्व भुक्तानी नपाएपछि निर्माण व्यवसायीले यस वर्ष काम गर्न सकेको छैन । 

दश किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजार रुपैयाँमा सम्झौता भएको थियो । निर्माणको जिम्मा पाएको कर्ण बिल्र्डसले सुरुमा कामलाई तीव्रता दिए पनि भुक्तानी नपाएपछि काम गर्न समस्या भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सन्दीप श्रेष्ठले बताए । ‘गत वर्षको तीन करोड ३१ लाख तीन हजार रुपैयाँ भुक्तानी पाउन बाँकी छ । चालू आवमा जम्मा  एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि काममा फर्कन समस्या भएको हो’, उनले भने । श्रेष्ठले दायित्व भुक्तानी हुनासाथ काममा फर्कन बताउँदै बजेट थप्न आग्रह गरे ।

बागलुङ क्षेत्र नं २ अन्तर्गत हरिचौर बजारबाट मल्म, पाण्डवखानी–रमुवा–रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक विसं २०७९ मा रु २५ करोड २० लाखमा सम्झौता भएको थियो । उक्त सडकका लागि रु एक करोड बजेट विनियोजन भएपछि काम रोकिएको हो । यस खण्डको १८ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ ।

एक वर्षमा  २५ करोड रुपैयाँको सडकमा रु एक करोड बजटले काम गर्न समस्या भएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राज थापाले बताए ।  

म्याग्दी जिल्लाको रत्नेचौर–ज्यामरुककोट, भकिम्लि हुँदै बराङ्जा जाने सडकको पूर्वाधार निर्माण सकिएपनि बजेट अभावमा कालोपत्र हुन सकेको छैन ।  हालसम्म ४५ प्रतिशत भौतिक प्रगति गरेको उक्त सडकको निर्माण व्यवसायीलाई गत वर्षको ३ करोड ८१ लाख ४४ हजार भुक्तानी दिन बाँकी छ । मुस्ताङको रणनीतिक सडकअन्तर्गत पर्ने लेतेस्थित थासाङ गाउँपालिका–२, ३, ४ र ५ मा पर्ने छयो–कुन्जे–टिटी–धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा बजेट अभावका कारण काम प्रभावित बनेको छ ।

 

तीन वर्षमा कालोपत्र गर्नेगरी  ३८ करोड ८८ लाख ६१ हजार रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको उक्त खण्डको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त सडकमा गत वर्षको भुक्तानी दायित्व नरहे पनि चालू आवमा विनियोजन भएको एक करोड रुपैयाँले काम गर्न समस्या भएको निर्माण कम्पनीको भनाइ छ ।  ३८ करोड रुपैयाँको सडक निर्माणका लागि एक वर्षमा  एक करोड रुपैयाँ मात्र बजेट आउँदा काम गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख अनुक्षा घिमिरेले अर्थमन्त्रालयले आवश्यक बजेट नपठाउँदा काम गर्न समस्या भइरहेको बताए । उनले तीन जिल्लाका चार ठूला सडकको कालोपत्रको काम सुरु गर्ने समयमा बजेट कटौती हुँदा निर्माण व्यवसायीले काम छोडेर हिडेका बताए । ‘ठूला सडक सिगाना र रत्नेचौरको कामको प्रगति सम्झौता अघिनै सक्नेगरी अघि बढेको थियो । गत असारमा बजेट कटौती भएर भुक्तानी गर्न सकिएन । यो वर्ष भुक्तानीका लागि पर्याप्त बजेट छैन’, घिमिरेले भने, ‘अर्थ मन्त्रालयमा बजेट थप गर्नका लागि समन्वय भइरहेको छ । हालसम्म बजेट थप नभएको अवस्थामा यो वर्ष चार वटै सडकमा काम नहुने देखिएको छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal