Skip to content
Prabhu

मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले वडा नं ११  बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । नगरपालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो । 

३५ दिने सूचना जारी गरेर हटाउन भनिएपनि अटेर गरेर नहटाएपछि डोजर लगाएर हटाइएको नगरपालिकाका इञ्जिनियर जीतबहादुर कार्कीले जानकारी दिए। गत पुस २६ गते बसेको कार्यपालिका बैठकले बजारका अव्यवस्थित संरचना हटाउने निर्णय गरेको थियो । 

मेलम्ची बजारमा एक सयभन्दा बढी घरले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि ती संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए।  नगरको आग्रहमा केहिले आफैं हटाएका भन्दै बाँकी रहेका घरमा डोजर लगाइएको मेलम्ची–११ का वडध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।

बजारलाई व्यवस्थित बनाउनका लागि मेलम्ची–११ का वडध्यक्ष तामाङको अध्यक्षतामा बजार व्यवस्थापन समिति बनाइएको थियो । सोही समितिको निर्णय अनुसार ३५ दिने सूचना नगरपालिकाले जारी गरेको थियो । उक्त सूचनाको म्याद नसकिँदै अधिकांश स्थानीय तथा व्यापारीले स्वतःस्फूर्त रूपमा अतिक्रमित अस्थायी संरचना हटाएका थिए ।

सूचनाको बेवास्ता गरी नहटाइएका एक दर्जन बढी संरचनामाथि नगरपालिकाले डोजर चलाएको इञ्जिनियर कार्कीले बताए । उनका अनुसार पालिकाले बजार व्यवस्थापनका लागि सञ्चालन गरेको अभियानप्रति यहाँका व्यवसायीले पूर्णसाथ दिएका छन् । 

अभियानमा मेलम्ची–१० का वडाध्यक्ष अमृत खनाल, ९ का वडाध्यक्ष किरणदिप खडका, स्थानीयलगायतको सहभागिता थियो । मेलम्ची बजार क्षेत्रको मात्र नभइ तालामाराङ, बाहुनेपाटी, दुवाचौर, भोटेचौरलगायत क्षेत्रको पनि उचित व्यवस्थापन हुनुपर्ने व्यवसायी रामकृष्ण चालिसेले बताए।

नगरपालिकाको उक्त अभियानमा नगर उद्योग वाणिज्य संघले पूर्ण समर्थन जनाएको सङ्घका महासचिव ताराबहादुर बानियाँले जानकारी दिए। संरचना भत्काउने मात्रै नभइ उचित व्यवस्थापन समेत गर्नुपर्ने उनको माग छ।  अतिक्रमित संरचना हटाउँदा सडक फराकिलो हुनुका साथै बजार सुन्दर देखिएको स्थानीयले बताएका छन् । मेलम्ची क्षेत्रमा पार्किङको समस्या रहेको भन्दै यसको उचित व्यवस्थापन हुनुपर्ने स्थानीय विष्णुप्रसाद दुलालले बताए।

यसैबीच, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाबीच भगिनीसम्बन्ध स्थापना भएको छ । बनेपामा आयोजित कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै भगिनीसम्बन्ध सुरुवात गरिएको हो । 

उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले पाँचपोखरिको विकासका लागि सहयोग गर्न सधैं तयार रहेको बताए । पर्यटनको विकास तथा प्रवर्द्धन, अर्गानिक आलु तथा तरकारीको बजार व्यवस्थापनलगायत क्षेत्रमा नगरपालिकाको सधैं सहयोग रहने उनले प्रतिबद्धता जनाए ।  शाक्यले पाँचपोखरीमा आँखा अस्पताल सञ्चालन गर्ने  विषय सकारात्मक रहेको भन्दै दुवै पालिकाको हितका लागि सम्बन्ध स्थापना गरेको प्रष्ट पारे।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले गाउँपालिकालाई समृद्ध बनाउन यो सम्बन्ध उपलब्धिमुलक रहने बताए। काठमाडौँसँग जोडिएको जिल्ला भएर पनि पछि पाँचपोखरीलाई विकसित र समृद्ध बनाउनका लागि भगिनीसम्बन्ध स्थापना गरिएको उनको भनाइ छ ।

अध्यक्ष लामाले यो ऐतिहासिक निर्णय गाउँपालिकाको इतिहासमा लेखिएको बताए। उनले आगामी दिनमा साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले यो मैत्रीपूर्ण भ्रमणले धेरै कुराको सिकाएको बताए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal