Skip to content
Prabhu

गोदाममा थन्कियो ७५ करोडको दूध र घिउ

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घिउ (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो ।

उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए।

उनका अनुसार ७५ करोड रुपैयाँभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घिउ भण्डारणमा रहेको भन्दै उनले उद्योगमा तीन सय र ५०/५० टनका तीनवटा कोल्डस्टोर तथा तिनका चार प्यासेज घिउले भरिएका जानकारी दिए।

 

‘उद्योगले १५ किलोको घ्यूका प्याकेट निर्माण गर्ने गर्दछ । तिनलाई चाङ लगाएर कोल्डस्टोरमा राखिएको छ’, प्रबन्धक दुर्गा पराजुलीले भने, ‘घिउ कोल्डस्टोरमा माइनस २० डिग्री सेन्टिग्रेट तापक्रममा राख्नुपर्ने हुन्छ । विद्युत् आपूर्ति नहुँदा जेनेरेटर चलाउनुपरेका छ ।’ 

उद्योग बन्द भए पनि झण्डै १६ लाखको बिजुली र १० लाख हाराहारीको डिजेल खर्च हुने गरेको उनले जानकारी दिए । योसँगै उद्योग सञ्चालन हुँदा ४० लाख रुपैयाँ हाराहारीको भुस प्रयोग हुने गरेको उनको भनाइ छ ।

 

प्रशोधन गरिएको घिउ  सात सय रुपैयाँ हाराहारी प्रतिकिलोमा बिक्री हुने गरेको छ । ठाउँअनुसार प्रशोधन गरेका संस्थाले दररेट तय गर्ने गर्छन् । यस हिसाबले पनि  ४० करोड रुपैयाँभन्दा बढीको घ्यू भण्डारणमा रहेको पराजुलीले बताए । उनका अनुसार २० हजार बोरा पाउडर दूध भण्डारण गरेर राखिएको छ ।

‘एक बोरामा २५ किलो हुन्छ । दूध प्रतिकिलो बजारमा  सात सय रुपैयाँ हाराहारीमा बिक्री हुने गरेको छ । खुद्रा बिक्री हुँदा दररेट संस्थाले केही बढी तय गर्ने गरेका छन् । यसरी हेर्दा  ३५ करोड रुपैयाँभन्दा बढीको पाउडर दूध भण्डारणमा छ’, उद्योगका प्रबन्धक पराजुलीले भने । उनका अनुसार प्रशोधित दूध बिक्री नहुँदा किसानले भुक्तानी पाएका छैनन् भने उद्योगले प्रशोधन शुल्क पाउन सकेको छैन । 

पाउडर दूधले गोदाम, क्यान्टिन, घिउ तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएका पराजुलीको भनाइ छ । डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरिएको उनले बताए।

 

विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको  एक सय १३ रुपैयाँ र घ्यू (बटर) को प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।

 

एकतिस वटा डेरी उद्योग, निजी फर्म र सहकारीको दूध भण्डार भएर बसेको छ । उत्पादित सामग्री बिक्री हुन नसकेपछि उद्योग आर्थिक रुपमा समेत समस्यामा परेको छ । प्रशोधनसमेत रोकिएपछि ‘मिल्क होलिडे’को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित भएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal