Skip to content
Prabhu

जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने

टोकियो । जापानले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनः निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पले क्षति पु¥याएका क्षेत्रको पुनःनिर्माणका उक्त रकम खर्च गर्ने बताए  । उनले शनिबार भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि नयाँ आर्थिक सहायताको घोषणा गरेका हुन्। 

सन् २०२४ जनवरी १ मा गएको ७.५ म्याग्नीच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको इशिकावा क्षेत्रको केही भागलाई तहसनहस बनाएको थियो । भूकम्पका कारण धेरै भवनहरू र सडकहरू भत्किएका थिए भने विशाल आगलागीसमेत भएको थियो ।

भूकम्पमा परी अहिलेसम्म २ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १० हजारभन्दा बढी मानिसहरू शिविर र होटलमा शरण लिइरहेका छन्, र इशिकावाका केही भागहरूमा अझै पनि खानेपानीको सेवा सहज हुनसकेको छैन । 

‘अस्थायी आश्रयस्थलमा बस्ने अवस्थामा सुधार भइरहेको छ, तर म यो कुरा मनमा राख्नेछु कि वास्तविकता पहिलेजस्तै कठिन छ,’ किशिदाले सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पत्रकारहरूसँग भने । 

‘निरीक्षणले ‘थप सहयोग प्रदान गर्ने दिशामा काम गर्ने सरकारको दृढतालाई पुनः पुष्टि गरेको छ’, उनले भने । किशिदाले चालू आर्थिक वर्षको सञ्चित कोषबाट करिब १०० अर्ब येन (६६ करोड अमेरिकी डलर) को अतिरिक्त खर्चलाई आगामी दिनमा आफ्नो क्याबिनेटले अनुमोदन गर्ने बताए। 

यो नयाँ वर्षको दिनको भूकम्पबाट पुनरुत्थानको प्रयासका लागि आपतकालीन कोषको तेस्रो विनियोजन हो, जुन रकम अब कुल २६० अर्ब येन (१.७ अर्ब डलर) भन्दा बढी हुने अपेक्षा गरिएको छ ।

किशिदाले भने, ‘नवीनतम कोषहरू अनुदान प्रणालीको वित्तपोषणको लागि डिजाइन गरिएको छ जसले युवा र बाल–पालन गर्ने परिवारहरूलाई उनीहरूको ध्वस्त घरहरू पुनर्निर्माण गर्न मद्दत गर्छ ।’ प्रधानमन्त्री किशिदाले पूर्वनिर्मित अस्थायी आवास निर्माणका लागि प्रयासलाई तीव्रता दिइने र वाजिमाको परम्परागत कलाकृति उद्योगका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

भूकम्पका कारण इशिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ अर्ब डलर) देखि २.६ ट्रिलियन येन )१७.६ अर्ब डलर) को क्षति भएको सरकारी अनुमान छ । तर, सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६.९ ट्रिलियन येनको क्षतिभन्दा पनि यो अनुमान निकै कम हो ।

त्यस विपत्तिमा लगभग १८ हजार ५ सय मानिसको मृत्यु वा बेपत्ता भएका थिए । यसले फुकुशिमा आणविक केन्द्रमा विपत्ति निम्त्यायो, जुन चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal