Skip to content
Prabhu

नेपालको प्लाइउड’ रोक्ने भारतीय नीतिले उद्योगी चिन्तित, ६० हजारले रोजगारी गुमाउने

झापा । भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आइएसओ)को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन् ।

भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । भारतले प्लाइउड निर्यात रोकेमा पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र इलाममा सञ्चालित दर्जनौं भेनियर उद्योग बन्द हुनेछन्भने त्यहाँ कार्यरत ६० हजारले रोजगारी गुमाउने व्यवसायीहरूले बताएका छन् ।   

भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आइएसओ) प्रमाणित नभएका नेपाली प्लाइउडलाई यही फेब्रुअरी २८ तारिखदेखि आफ्नो मुलुकभित्र आयात हुन नदिने जनाउँदै आएको छ । यसको जानकारी तीन महिनाअघि नै भारतीय राजपत्र (गजेट)मा प्रकाशित भएको थियो । 

नेपाल भेनियर उत्पादक सङ्घका उपाध्यक्ष श्याम न्यौपानेले भारतले ल्याएको नयाँ नीति लागू भएमा नेपालका भेनियर उद्योगहरु बन्द हुने निश्चित भएको बताए । नेपालका कुनै पनि भेनियर उद्योगहरु आइएसओमा दर्ता छैनन् ।

भारतको नयाँ नीतिका कारण नेपाली भेनियर उद्योगको बजारमा नकारात्मक असर पर्न थालिसकेको उनले बताए । उनले भने, ‘उत्पादनको ४० प्रतिशत मात्र नेपालमा खपत हुन्छ र ६० प्रतिशत तयारी प्लाइउड भारत निकासी हुँदै आएको छ ।’ उनले भारतले हठात ल्याएको नयाँ नीतिले प्लाइउड निर्यात गरेर बर्सेनि लाखौं विदेशी मुद्रा आर्जन गर्दै आएको नेपाललाई ठूलो आर्थिक क्षति पुगेको र रोजगारी गुमाउने अवस्था सृजना भएको बताए । यसलाई रोक्न नेपाल सरकारले भारत सरकारसँग वार्ता गर्नुपर्ने उनको सुझाव छ । 

मेची भन्सार कार्यालय काँकरभिट्टाकाअनुसार गत वर्ष पूर्वी नाकाबाट एक अर्ब ९९ करोड रुपैयाँ मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । व्यवसायीहरुले प्लाइउडको कच्चापदार्थ निर्यात गर्दा प्रतिकेजी  ६ र तयारी रुपैयाँ प्याइउड पठाउँदा एक सय १३ रुपैयाँको दरले भन्सार महसुल तिर्दै आएका छन् । 

कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी सङ्ख्यामा भेनियर उद्योग रहेको सङ्घका उपाध्यक्ष न्यौपानेले जानकारी दिए  । उनका अनुसार कोशी प्रदेशमा करिब ८० र झापामा मात्र ३२ वटा भेनियर उद्योग सञ्चालन भइरहेका छन् । एउटा उद्योगमा कम्तीमा ६० देखि दुई हजारजनाले रोजगारी पाइरहेका हुन्छन् । 

नेपाली व्यवसायीहरु भारतको नयाँ नीतिको सुरुदेखि नै विरोधमा छन् । व्यवसायीहरुले नेपाल सरकार र भारतीय राजदूतावास दुवैलाई निर्यात बन्द हुने अवस्था आउन नदिन आग्रह गर्दै आएका छन् ।  

नेपाली भेनियर व्यवसायीहरु भारत सरकारले खोजेजस्तो आइएसओ दर्तामा जान लामो र झन्झटिलो प्रक्रिया लाग्ने बताउँछन् । सञ्जीवनी प्लाइउड उद्योगका सञ्चालक सञ्जीव साहले भारतले नयाँ नीति लागू गर्ने फेब्रुअरी २८ तारिख आउन अब केही दिन मात्र बाँकी भएकाले नेपाली भेनियर उद्योगको भविष्यमा कालो बादल मडारिएको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal