Skip to content
Prabhu

३९७ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित १ सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दमक नगरपालिका–१३ र १४ मा रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । सार्वजनिक जग्गाका रुपमा दर्ता गर्नुपर्ने ३ सय ९७ रोपनी आठ आना एक पैसा तीन दाम जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको आयोगले जनाएको छ । सो जग्गा व्यक्तिविशेषका नाममा घुसाइ न्यूनतम मूल्याङ्कन ३४ करोड ६६ लाख ५४ हजार आठ सय ४९ रुपैयाँ कायम हुन आउने देखिएको छ ।

सरकारी सार्वजनिक पदधारण गरेको नापी कार्यालय चन्द्रगढी झापाका कर्मचारी १०, मालपोत कार्यालय दमकका ११ कर्मचारी, नापी कार्यालय दमक झापाका सात, सरकारी जग्गा हालसाबिक गरी दर्ता गर्ने ३६ र बिगो असुल तथा जग्गा फिर्ता लिने प्रयोजनाका लागि एक सय आठ जना गरी कुल एक सय ७२ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी प्रमुख स्व शशिकान्त झा र निजको श्रीमती अनारदेवी झाविरुद्ध ३० करोड दुई लाख ७१ हजार नौ सय २६ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । सोही कार्यालयका तत्कालीन प्रमुख नापी अधिकृत  विष्णुकमार न्यौपानेविरुद्ध  दुई लाख तीन हजार एक सय पाँच रुपैयाँ, प्रमुख नापी अधिकृत स्व संसारनाथ पाण्डे र निजको श्रीमती सावित्री पाण्डेयविरुद्ध ६७ हजार सात सय सात रुपैयाँ बराबरको बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले  जानकारी दिए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal