Skip to content
Prabhu

होटल व्यवसाय धरासायी भएकामा सिरहाका व्यवसायी चिन्तित

सिरहा ।  बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले जानकारी दिए । 

‘एकातिर कर्जाको ब्याजदर बढ्नु र अर्कातिर उद्योग व्यवसायमा मन्दी आउनुले यहाँका उद्योग व्यवसाय थप मारमा पर्दै गएका छन्’, उनले भने, ‘वित्तीय क्षेत्रको दोहोरो ब्याजदर वृद्धिबाट प्रभावित व्यवसायी समस्यामा परे । यसको निराकरणका लागि सरकारलगायत सबै क्षेत्रको ध्यान जाओस् ।’

सङ्घले सोमबार लाहानमा एक अन्तक्र्रिया कार्यक्रम गरी उद्योग व्यवसाय धरासायी हुँदै गएकामा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखमार्फत सरकारको ध्यानाकर्षण समेत गराएको छ । होटल व्यवसाय सञ्चालन तथा सहजीकरणका लागि सबै क्षेत्र र तहबीच समन्वय र सहकार्य हुनुपर्नेमा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए । 

त्यस्तै नेपाल–भारत खुला सिमानाका कारण हुने अवैधानिक क्रियाकलापलाई रोक्न प्रशासन र आम नागरिकले हातेमालो गरी यसको न्यूनीकरण गर्नुपर्नेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । 

वित्तीय क्षेत्रको ब्याजदर वृद्धिले व्यवसाय क्षेत्रमा सिर्जना गरेको समस्या समाधानका लागि सरकारले पहल नगरेका कारण पछिल्लो समय यहाँका होटल तथा व्यवसाय ओरालो लाग्न थालेको होटल तथा पर्यटन व्यवसायी सङ्घ सिरहाका अध्यक्ष रामकुमार गुप्ता, मदिरा व्यवसायी सङ्घ सिरहाका अध्यक्ष वीरेन्द्र साहलगायतले धाराण राखे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal