Skip to content
Prabhu

सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । चिसो बढेसँगै करिब दुई महिनादेखि सुनसान रहेको यस पदमार्गमा यतिबेला दैनिक २५/३० जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेको मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए । 

उनले विगतमा दैनिक पाँचभन्दा बढीसम्म पर्यटक आउने गरेकामा अब अब विस्तारै बढ्दै जाने  अपेक्षा रहेको बता। चिसो मौसमका कारण पर्यटक नआउँदा सुनसान बन्दै गएको यस पदमार्गमा पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय चल्न थालेको उनको भनाइ थियो  । 

चिसो छल्नका लागि मनाङवासी बाहिरी जिल्ला गए पनि उनीहरुसमेत विस्तारै आउने क्रममा छन् । मर्स्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले पर्यटकको आगमन ठप्प भएसँगै आफूहरु फुर्सदिलो बने पनि यतिबेला पर्यटक आगमन आउन थालेसँगै व्यस्त हुन थालेको  बताए । 

पर्यटकको आगमन हुँदा धेरै थोरै भए पनि आम्दानी हुन थालेको छ । यस याममा पहिला इजरायली नागरिक सबैभन्दा बढी आउने गरे पनि यस वर्ष इजरायली र हमासबीचको युद्धका कारण इजरायली पर्यटक नदेखिएको उनले बताए । पर्यटक बढ्दा दैनिक ६० हजार रुपैयाँभन्दा बढी हाराहारीमा व्यापार हुँदै आएको उल्लेख गर्दै पर्यटन व्यवसायी गुरुङले मार्च ३ गतेदेखि अप्रिल अन्तिमसम्मै पर्यटकले उनको होटल बुकिङ गरिसकेका छन् । 

पर्यटन व्यवसायीहरू मेखबहादुर गुरुङ, खुसीराम गुरुङ, देवीजङग गुरुङ, चेतबहादुर गुरुङ, बगबहादुर गुरुङ पूर्णबहादुर गुरुङ, राजमान गुरुङलगायत यस पदमार्ग आसपासमा सयौं सङ्ख्यामा रहेका होटल व्यवसायीले अहिले काम पाउन थालेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा क्षेत्रका होटल व्यवसयामा समेत आम्दानी हुन थालेको छ । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । 

विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज तथा प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । यहाँ आउने पर्यटक विशेष गरेर थोराङपास, लार्केपास, र कांलापासका साथै विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल अवलोकनका लागि आउने गरेको पाइन्छ । 

त्यस्तै यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमशृङ्खला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत गङ्गापूर्ण, जुलू पिक, पिसाङ पिक, नीलगिरि र तिलिचो पिकजस्ता हिमाल नजिकैबाट अवलोकन गर्न पर्यटक आउने गरेको मनाङवासीले बताए। लमजुङ बेँसीसहरबाट सुरु भई अन्नपूर्ण पदमार्गको यात्रा धारापानी र मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, घोरेपानीबाट पोखरा पुगेर सम्पन्न हुन्छ । 

पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको थोराङ भञ्ज्याङलाई पर्यटकहरूले पास गर्ने गर्छन् । पदयात्राका सौखिनका पारखीका लागि यस पदमार्ग महत्वपूर्ण मानिन्छ । विगतमा १८ दिनसम्म यात्रा हुने यस पदमार्गको यात्रा भने सडक विस्तारले छोटिएसँगै व्यवसायमा समेत असर परे पनि पर्यटकको आगमनले व्यवसाय चल्दा आम्दानीको बाटो भइरहेको पर्यटन व्यवसायीहरूले बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal