Skip to content
Prabhu

विद्युत प्राधिकरणको ६ महिनामा नाफा १५ अर्ब ३६ करोड, १३ अर्बको विद्युत निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरु लगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ ।

प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ  नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९र८०को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।

गत  आवको पहिलो ६ महिनाको तुलनामा  प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा चार अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आवको नाफा १२ अर्ब ३३ करोड रुपियाँ थियो । आव २०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा  चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए।

‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौं, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरुमा हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘विद्युतमा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा आगामी वर्षहरुमा १०÷१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन ।’

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरुबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ नौ अर्ब तीन करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।

नाफारनोक्सानको अवस्था


आर्थिक बर्ष        नाफा(रुपैयाँ)    घाटा(रुपैयाँ)

२०७२र७३         ८ अर्ब ८९ करोड

२०७३र७४       १ अर्ब ५० करोड     

२०७४र७५      ३ अर्ब ४४ करोड     

२०७५र७६      ९ अर्ब ८१ करोड     

२०७६र७७     ११ अर्ब ७५ करोड     

२०७७र७८    ६ अर्ब ९करोड    

२०७८र७९    १३ अर्ब ३७ करोड    

२०७९र८०    १२  अर्ब ३३ करोड    

२०८०र८१   ९६ महिना०  १५ अर्ब ३६ करोड     


१३ अर्बको विद्युत निर्यात, दुई अर्बको आयात

नेपाल विद्युत प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

समीक्षा अवधिमा एक अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत् निर्यात गरिएको छ । सुख्खायाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाहरुको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ ।

समीक्षा अवधिमा २२ करोड पाँच लाख युनिट विद्युत् आयात गरिएको छ । वर्षायाम सुरु भएसँग फेरि विद्युत् निर्यात सुरु हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal