Skip to content
Prabhu

हिमालयन एभरेस्टमा आर्थिक पत्रकारलाई १६ करोडको स्वास्थ्य बिमा

काठमाडौंं  । आर्थिक पत्रकारहरूलाई हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा आबद्ध सदस्यहरूलाई उक्त रकमको स्वास्थ्य बिमा गरेको हो ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले बिहीबार एक कार्यक्रमबीच सेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आश्विन पराजुलीलाई बिमा पोलिसी हस्तान्तरण गरेका हुन् । यद्यपि उक्त पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बिमाको अवधि एक वर्षको हुने छ ।

पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धिवाहेक सुरक्षाका लागि समेत संस्था गम्भीर रहेको बताए । यसैक्रममा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको उनले जानकारी दिए । ‘हामीले आफ्ना सबै सदस्यको क्षमता अभिवृद्धि लगायत काम गर्दै आएका छौं, जुन सधैं कायमै रहन्छ’ उहाँले भन्नुभयो, ‘सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले हामीले आफ्नो कोषबाट सबै सदस्यको बिमा गरेका छौं ।’ सदस्यको हितमा काम गर्नु संस्था र आफ्नो दायित्व भएको अध्यक्ष ओलीले भने ।

सम्झौता कार्यक्रममा इन्स्योरेन्सका सीईओ शाहले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बिमा गर्न पाएकोमा खुशी व्यक्त गरे । यसैक्रममा सीईओ शाहले सबै नेपाली बिमामा जोडिन आवश्यक रहेको समेत बताए । बिमाको महत्वबारे अझै नागरिकलाई बुझाउन नसकिएको शाहको भनाइ छ । बिमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण नभएको उनको भनाइ छ । आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बिमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउनसमेत अनुरोध गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal