Skip to content

ब्राजिलको राजधानी ब्रासेलियामा ‘एक्स्पो नेपाल २०२४’ सुरु

nabil bank

काठमाडौँ । ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ । 

ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको उद्घाटनमा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो, ब्राजिलका कानुन उपमन्त्री, ब्राजिलको सङ्घीय अदालतका न्यायाधीश, ब्राजिलियन ट्राभल एजेन्सी सङ्घ (अबाब)का अध्यक्ष, ब्राजिल राष्ट्रिय उद्योग परिसङ्घका अध्यक्षलगायतको उपस्थिति थियो । 

कार्यक्रममा प्रमुख अतिथि ब्राजिलका श्रममन्त्री लेलियोले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै दूतावासले आयोजना गरेको यो कार्यक्रमले दुई देशबीच सम्बन्धमा नयाँ आयाम ल्याउनेमा विश्वास व्यक्त गरे ।

नेपाली दूतावासको निमन्त्रणामा कार्यक्रममा विभिन्न २० वटाभन्दा बढी देशका राजदूतको उपस्थिति थियो । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल र ब्राजिलको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धबारे चर्चा गर्नुभयो । उहाँले एक्स्पोले ब्राजिलियनहरुलाई नेपालसँग जोड्ने माध्यम हुनसक्ने बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का  महासचिव बिनोद सापकोटाले एस्पोले ब्राजिलियनहरुलाई नेपाल घुम्नैपर्ने देश हो भनेर  जानकारी दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नेपाल ब्राजिलदेखि भौगोलिक दुरीले नेपाल टाढा भएपनि ठूलो अर्थतन्त्र भएको ब्राजिललाई नेपालमा जोड्न दूतावाले गरेको प्रयास निकै सकारात्मक भएको उनले बताए ।

नेपाल उद्योग परिसङ्घका महाप्रबन्धक दीपकराज जोशीले नेपाल पनि भौगोलिक र प्राकृतिकरुपमा ब्राजिल जस्तै भएको भन्दै त्यहाँका लगानीकर्तालाई नेपालमा निर्धक्क भएर भ्रमण र लगार्न गर्न आग्रह गरे । 

नेपालका विविध क्षेत्रबारे जानकारी दिने उद्दधेश्यले आयोजना गरिएको ‘एक्सो नेपाल २०२४’ मा नेपाली व्यवसायीहरुले २२ वटा प्रदर्शनी कक्ष राखेका छन् । प्रदर्शनी कक्षमा नेपाल घुम्न चाहनेका लागि विभिन्न आकर्षक प्याकेजका साथै नेपाली मौलिक खानाका परिकार, नेपाली गलैचा, नेपाली कला सस्कृति झल्काउने काठका सामग्रीहरु राखिएका छन् । यही मार्च १ देखि सुरु एक्सपो मार्च ३ तारिखसम्म चल्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime