Skip to content
Prabhu

सुदूरपश्चिममा कफी खेती प्रवर्द्धनमा ‘इयु’को सहयोग

 

दीपायलः स्थानीय तहसँग सहकार्यमा कफीको दिगो तथा व्यावसायिक उत्पादन प्रवर्द्धन गर्न साना किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको डोटीमा किसानका लागि क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत युरोपियन युनियन ‘इयु’को नेपाल व्यापार तथा लगानी कार्यक्रमले डोटीको शिखर नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहकार्यमा उक्त दुई दिने तालिमको आयोजना गरेको हो । तालिममा शिखर नगरपालिकाका ३५ कफी किसानको सहभागिता  छ । सहभागीमध्ये अधिकांश महिला छन् ।

कफी खेतीका लागि अत्यधिक सम्भावना बोकेको डोटीमा कफीको वैज्ञानिक, दिगो तथा व्यावसायिक उत्पादन र उत्पादकत्व बढाइ आपूर्ति क्षमता अभिवृद्धि गर्न उक्त  तालिम प्रदान गरिएको हो । तालिमले सम्भावित किसानलाई कफी खेतीका वैज्ञानिक विधिबारे जानकारी गराउनुका साथै यसको सम्भावना तथा लाभबारे जानकारी दिइ यसक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्य राखेको छ । 

स्थानीय तह मार्फत उद्यमी तथा किसानलाई कफी मूल्य शृङ्खलामा उनीहरूको उच्चतम सहभागीतासहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले  सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ । तालिमको अवसरमा १२० कफीका बिरूवा रोप्नुका साथै नर्सरी व्यवस्थापनबारे प्रयोगात्मक प्रदर्शन गरिने छ । सहभागी विस्ना भाटले  तालिमको अवसरबाट आफु धेरै उत्साहित भएको उल्लेख गर्दै तालिमबाट सिकेको ज्ञानबाट आफूले कफी खेती सुरू गर्ने बताए ।  

शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावलले कफी  खेतीका लागि स्थानीय तह र सरोकारवाला संस्थासँग सहकार्य गरी अघि बढ्ने बताए ।       

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम हमाल, कफी विज्ञ डा बद्री बस्ताकोटी, समाजसेवी अमरबहादुर शाहीलगायतले नेपालमा कफीको उत्पादनको सम्भावना प्रचुर रहेको अवस्थामा उत्पादनदेखि प्रशोधन उपभोग तथा निर्यात सम्मका मूल्य शृङ्खलालाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।  

नेपालमा कफीको बृहत् 

सम्भावनालाई उपयोग गर्न सम्बन्धित किसानलाई सचेतना अभिवृद्धि गर्न यस किसिमको तालिम आयोजना भएको उल्लेख गर्दै उहाँहरूले विदेशी बजारमा उच्च मूल्य रहेको नेपाली कफीको उत्पादनमा केन्द्रित हुनुपर्ने बताए ।  

नेपालमा १२ लाख हेक्टर क्षेत्रफलमा कफी खेतीको सम्भावना रहे पनि हाल करिब ४२ जिल्लामा करिब तीन हजार ६ सय ५५ हेक्टरमा कफी खेती हुने गरेको तथ्याङ्क छ । नेपालमा आर्थिक वर्ष  २०७९÷८० मा कफीको उत्पादन करिब तीन सय ९४ टन रहेको तथ्याङ्क छ । सो आवमा नेपालले रू १३ करोड चार लाख बराबरको ७७ टन कफी निर्यात तथा रू ३२ करोड ५८ लाख बराबरको चार सय ५० टन कफी आयात गरेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal