Skip to content
Prabhu

हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ ।  कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो । 

सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको हो ।  गत आर्थिक वर्षमा विनियोजित  १८ लाख ४४ हजार रुपैयाँ र चालु आव २०८०/०८१ मा विनियोजन गरिएको १९ लाख ९४ हजार ८ सय ३१ रुपैयाँ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज कृषि मार्टमा लगेर कृषिउपज बिक्री गर्ने छन् । 

केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो । सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषिउपज कृषि मार्टमा बिक्री हुने जनाइएको छ । 

नगर प्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले  ‘हलेसी कृषि मार्ट’को शुभारम्भ गरेका थिए।  कृषकले उत्पादन गरेर ल्याएका कृषिउपज सङ्कलन गरेर बिक्री गर्नसमेत सुरु गरिएको छ । कृषकले आलु, साग, धनिया, कोभी, मुलालगायतका तरकारी बिक्री गर्न कृषि मार्टमा ल्याएका थिए । 

आफूले उत्पादन गरेर ल्याएको कृषिउपज एकै ठाउँमा बिक्री गर्न पाउँदा खुसी लाग्नुका साथै सहज भएको अगुवा कृषक अनिता राईले बताएकी छन् । ‘अरु बेला आफूले उत्पादन गरेका कृषिउपज बोकेर सबै घर, होटलमा डुलेर कराउँदै बेच्नुपर्थ्यो । आज सहजै यहाँ एकै ठाउँमा बिक्री हुँदा धेरै खुसी लागेको छ’, उनले भनेभयो, ‘कृषिउपजको बजारीकरणका लागि सञ्चालन गरिएको कृषि मार्टले निरन्तरता पाउन आवश्यक छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’

नगरपालिकाले निर्धारण गरेको मूल्य आवश्यकता र समयको आधारमा परिवर्तन गर्दै जाने गरी हलेसी बजारमा कृषि मार्ट सञ्चालन गरिएको नगर प्रमुख राईले बताएकी छन् । ‘त्रिधार्मिकस्थल हलेसी सबैको आस्थाको धरोहर हो। यहाँ हजारौं मानिसको आवतजावत हुन्छ । यहाँ आउने पर्यटकलाई अर्गानिक खानेकुरा पुर्याउन सकिएको छैन । 

नगरपालिकाले यसतर्फ मध्यनजर गर्दै कृषि मार्ट सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘मार्ट सञ्चालकले नगरपालिकाले तोकेको मूल्यमा कृषकबाट कृषिउपज खरिद गर्नुपर्छ । कृषकबाट खरिद गरिएको कृषिउपज मार्ट सञ्चालकले २० प्रतिशतसम्म मात्र नाफा लिएर बिक्री गर्छन् । विगतमा कृषिउपज बिक्री नहुने, उचित मूल्य नपाउने, बिक्री गर्न घरमा बोकेर डुलाउँदै जानुपर्ने कृषकको बाध्यता थियो । कृषि मार्ट र चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकको उक्त समस्या समाधान भएको छ ।’

मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा आगामी दिनमा दूध डेरीसमेत सञ्चालनको लागि तयारी गरिएको नगरपालिकाले जनाएको छ । दूध उत्पादनको लागि नगरपालिकाले भैँसी प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । 

हरेक दिन सयौंको सङ्ख्यामा त्रिधार्मिकस्थल हलेसीमा पर्यटक आउने गरेका छन् । जसकारण हलेसी क्षेत्रका होटल प्रायः सधैं चलायमान हुन्छन् । तर, व्यवस्थापन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज कुहिएर जाने र बाहिरबाट तरकारी भित्रिने गरेको थियो । 

नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएसँगै कृषकले उत्पादन गरेको सबै कृषिउपज बिक्री हुने विश्वास लिइएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दैनिक सयौंको सङ्ख्यामा पर्यटक तथा भक्तजन आउने भएकाले पनि उक्त कृषि मार्ट निरन्तर सञ्चालन हुनेमा कृषक ढुक्क छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal