Skip to content
Prabhu

म्याग्दे गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

nabil

 

तनहुँ ।  तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । 

वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले वडा नं ३ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले  जानकारी दिए । सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ । 

उनले भने, ‘गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्य हो, यसले गर्दा सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य हुन्छ । घरआँगनमै स्थानीय सरकार गएपछि जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराउन सकिन्छ ।’

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाले वडास्तरमै पुगेर एकीकृत घुम्ती शिविर आयोजना गर्ने गरेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सोमबार र मङ्गलबार वडा नं ३ मा घुम्ती शिविर हुनेछ । फागुन २३ र २४ गते वडा नं ४ मा, २७ र २९ गते वडा नं ५ मा, ३० र चैत १ गते वडा नं ६ मा, चैत २ र ४ गते वडा नं ७ मा, चैत ५ र ६ गते वडा नं १ मा र चैत ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ती शिविर हुनेछ । 

घुम्ती शिविरबाट विषयगत शाखाअन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य÷आर्युर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिडविरुद्धको खोप प्रदान गरिने अधिकारीले जानकारी दिए ।

कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फर्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिनेछ ।

पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बरप्लेट वितरण गरिने जनाइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal