Skip to content
Prabhu

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो ।

विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर  १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

२०७६ देखि २०८० मङ्सिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी सङ्लन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचिन हाङपाङले राससलाई बताए ।  

कार्यकारी निर्देशक हाङपाङका अनुसार प्रतितोला सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ र प्रतितोला चाँदीको मोल एक हजार ४१० रुपैयाँ कायम गरिएको छ । सुनचाँदी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ । 

बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँमा पनि धेरै देवीभक्त यहाँ आउने गर्दछन् । भारतका साथै अन्य देशबाट पनि भक्तजन यहाँ आउने गरेका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal