Skip to content
Prabhu

भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल आउने पर्यटक दोब्बर हुने अपेक्षा

काठमाडौँ । भारतको सीमावर्ती क्षेत्रबाट आउँदो गर्मी याममा नेपाल आउने परिवारसहितका भारतीय पर्यटकहरुको संंख्या दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आकलन गरेका छन् । भारतीय र नेपाली पर्यटन व्यवसायीहरुबीच लखनउमा भएको एक वृहत नेपाल प्रवद्र्धनात्मक कार्यक्रममा सरोकारवालाले सो अपेक्षा गरेका हुन् । 

जनकपुर र अयोध्यालाई जोडेर बढीभन्दा बढी भारतीय पर्यकटकहरुलाई नेपाल भित्राउन संघले यही मार्च ३ देखि ७ सम्म भारतको लखनउमा पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा भाग लिन होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल अयोध्या र लखनउ गएको थियो ।

कार्यक्रममा लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टूर अपरेटर र व्यवसायीहरुको उपस्थिति थियो । 

टुर अपरेटरहरुलाई स्वागत गर्दै संघका अध्यक्ष विनायक शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै आउँदो गर्मीको छुट्टीमा भारतीय पर्यटकहरुलाई नेपाल घुम्न निम्ता दिनुभयो । 

अध्यक्ष शाहले नेपाल गन्तव्य विवाह र माइस पर्यटनका लागि उपयुक्त रहेको साथै यसका लागि पर्याप्त संरचनाहरु तयारी अवस्थामा रहेको पनि बताउनु भयो । उहाँले पर्यटकहरुलाई नेपालका मौलिक खानाहरु खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने पनि उल्लेख गर्नुभयो । 

अध्यक्ष शाहले नेपालको धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यहरुलाई समेटेर हिन्दी भाषामा तयार गरिएको प्रवद्र्धनात्मक पुस्तकका बारेमा चर्चा गर्नु भयो भने उपस्थित सम्पूर्ण सहभागीहरुलाई उक्त पुस्तक वितरण गरियो ।

कार्यक्रमा भारतीय पर्यटन व्यवसायीहरुको तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डिया र ट्राभल ट्रेड एसोसिएसन यूपीका अध्यक्षहरुले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवद्र्धनमा यस कार्यक्रमको अझ बढी महत्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताउनुभयो । 

उहाँहरुले छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकहरुलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकहरुले नेपाल भ्रमण गर्ने  विश्वास दिलाउनुभयो । उहाँहरुले भारत नेपाल सीमावर्ती पर्यटन प्रवर्द्धनमा नेपाल र भारतीय सीमावर्ती सहरहरुबीच सीधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको जनाउँदै यस सम्बन्धमा दुवै देशका सरकारहरुलाई आ आफ्नो क्षेत्रबाट सहजिकरणका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा लुम्बिनीबाट सीपी श्रेष्ठ, विराटनगरबाट राजन श्रेष्ठ, पोखराबाट भरतराज पराजुली, चितवनबाट सुमन घिमिरे, मधेश प्रदेशबाट विजयकुमार झुनझुनवाला, बर्दियाबाट मोहन चौधरीले आ आफ्नो क्षेत्र तथा प्रदेशको पर्यटन आकर्षणका बारेमा चर्चा गर्दै भारतीय पर्यटकहरुलाई नेपाल घुम्ने निमन्त्रणा दिनुभयो भने संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गर्नुभयो । 

संघका प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतले सञ्चालन गर्नुभएको कार्यक्रममा खासगरी ‘चलिएपोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुती गरी आउँदो गर्मी याममा आयोजना हुने गर्मी से बेहाल चलो नेपाल अभियानबारे पनि विस्तृत प्रस्तुति गरिएको थियो ।

यसअघि जानकी मन्दिरमा विशेष पूजा गरी परम्पराअनुसारको चाँदी तथा तुलसीको विशेष माला सहित १६ वटा सगुन तथा उपहारका किस्तीहरु प्रदेश पर्यटन मन्त्री सुनिता यादव तथा जानकी मन्दिरका महन्तबाट राममन्दिर अयोध्या तर्फ लैजान अध्यक्ष शाह तथा टोलीलाई हस्तान्तरण गरिएको थियो ।

नेपाल होटल संघ टोलीले राममन्दिर अयोध्यामा विशेष पूजा अर्चना गरी लखनउ पुगेको यिथो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal