Skip to content
Prabhu

दुग्धजन्य पदार्थको उपभोग वृद्धिमा जोड

चितवन । जिल्लामा स्थानीय दुग्धजन्य वस्तुको उपभोग बढाउन सरोकारवालाले जोड दिएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको दुग्धजन्य पदार्थ उत्पादक र व्यवसायीका समस्या समाधानसम्बन्धी अन्तक्र्रिया कार्यक्रमका अधिकांश वक्ताले  स्थानीय उत्पादनको प्रचारप्रसार र गुणस्तरमा ध्यान दिनसकेमा मात्र उपभोग बढाउन सकिने बताएका हुन् ।

 

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले एकअर्कालाई सहयोग गरेर समस्या समाधान गर्न सकिने बताए । किसानका समस्या समाधानका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।

 

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सरकारी निकायमा हुने कार्यक्रममा दुग्धजन्य वस्तुको उपयोग बढाउन निर्णय गर्न सकिने बताए । उनले भने, ‘उपभोग बढाउन हामी निर्णय गरौँला तर ब्राण्डिङ र गुणस्तरमा ख्याल गर्नुहोस्’, प्रतिस्पर्धी उत्पादनमा जोड दिए । 

 

केन्द्रीय दुग्ध सहकारी सङ्घका उपाध्यक्ष भागीरथ तिमिल्सिनाले विद्यालयदेखि सुरक्षा निकायसम्ममा दुग्धजन्य पदार्थको खपत बढाउन जरुरी रहेको बताए। जिल्लामा उत्पादित दुग्धजन्य वस्तुको खपत बढाउन सकेमा दुग्ध उत्पादक किसानको समस्या समाधान हुने उनले बताए । छिमेकी देशबाट आएका दुग्धजन्य वस्तुको गुणस्तर मापन र बजार अनुगमन हुन नसक्दा समस्या देखिएको उनको भनाइ छ ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख घननाथ अधिकारीले बजार अनुगमनलाई व्यवस्थित गर्दै जाने प्रतिबद्धता जनाए । बाहिरबाट आएका अखाद्यवस्तु नियन्त्रण गर्न व्यवसायीको सहयोग आवश्यक रहेको उनले बताए ।

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र भरतपुरका प्रमुख सुशील केसीले स्थानीय उत्पादनको लागत घटाएर गुणस्तर कायम गर्नसके दुग्ध उत्पादक किसानमा समस्या नहुने बताए।

 

उद्योग वाणिज्य सङ्घ चितवनकाका अध्यक्ष सुमन श्रेष्ठ र चितवन उद्योग सङ्घका अध्यक्ष सूर्य न्यौपानेले बजारीकरणमा देखिएका समस्या समाधानका लागि सङ्घले सहजीकरणमा सहयोग गर्ने बताए ।

 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष तेजेन्द्रबहादुर भुसालले विद्यालयमा दिवा खाजाको रुपमा केही दिन दुग्धजन्य उत्पादनको तालिका राख्न सकिने बताए। नियमित नसकिने भए पनि हप्तामा केही दिन मिलाएर गर्न सकिने उनको भनाइ थियो ।

 

चितवन मिल्कका सहव्यवस्थापक हेम प्रसाद तिवारीले आगामी आइतबारदेखि उद्योगले दूध उठाउन सुरु गर्ने बताए । उद्योगको गोदाममा थन्किएका दुग्धजन्य पदार्थ आ–आफ्नो लैजान र बाँकी रकम भुक्तानी गर्न उनले आग्रह गरे । 

 

चितवन जिल्ला दुग्ध उत्पादक कृषि सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले अहिले दैनिक ६० हजार लिटर दूध उठ्न नसकेको जानकारी दिए । दैनिक रु ४२ लाख घाटा बेहोर्नुपरेको भन्दै उनले दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सरकारी निकायबाट पहलकदमीका लागि आग्रह गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal