Skip to content
Prabhu

साताको सेयर बजारः तीव्र उतारचढावबीच ७० अंकको वृद्धि

काठमाडौं । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ ।

सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको थियो ।

यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँ बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता सेयर कारोबार भएको छ । आइतबार २ अर्ब पाँच करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको सोमबार भने ३७ करोड ३७ लाख ५१ हजार रुपैयाँ बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता सेयर मात्रै किनबेच भयो ।

मङ्गलबार  चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ रुपैयाँ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता सेयर कारोबार भएको छ । त्यसैगरी, बुधबार ३ अर्ब ४२ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार २ अर्ब ५८ करोड ७३ लाख १६ हजार रुपैयाँ बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबारपछि  कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ रुपैयाँ बराबर कायम भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal