Skip to content
Prabhu

बिहीबारदेखि भृकुटीमण्डपमा चेम्बर एक्सपो सुरु

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको ‘चेम्बर एक्सपो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको छ। 

एक्सपोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तुहरू प्रदर्शनीमा राखिएको छ। घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारीसाधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू समेत प्रदर्शनीमा छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्सपो सुरु भएको हो।  एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल छन्। सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तानलगायतका व्यापारीले सहभागिता जनाएका छन्।

एक्स्पो उद्घाटन कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताए। मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताए। 

कृषि, हस्तकलालगायत स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन एवं साना व्यवसायीहरूको आर्थिक गतिविधि विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष मल्लले बताए।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal