Skip to content

सुरक्षाकर्मीद्वारा आगो निभाउने संयुक्त अभ्यास

nabil bank

खोटाङ । जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् । 

गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरूपमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेका हुन् । उनीहरूले अग्निरेखा निर्माण, आगलागी नियन्त्रण तथा आगलागीका घटनाबाट बच्ने उपायबारे स्थानीय बासिन्दालाई सहभागी गराएर अभ्यास  गरेका थिए ।

आगो निभाउन सबैको सहयोग तथा सहकार्य आवश्यक हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताएका छन् । ‘आगलागी फायर, फ्युल र अक्सिजन एकैसाथ मिलेपछि हुन्छ । आगलागी नियन्त्रण गर्न हामीले फ्युल हटाउन सक्छौँ । जङ्गलमा पाइने पत्कर, सुकेका झाडीलगायत ज्वलनशील वस्तु फ्युल हुन् । त्यसलाई हटाएर अग्निरेखा निर्माण गरेमा आगलागी नियन्त्रण गर्न सकिन्छ’, उनले भने । वनमा जानाजान आगो लगाउनेलाई कानुनले १२ वर्षसम्म कैदको सजाय तोकेको जानकारी दिँदै यदि त्यसो गरेको पाइएमा प्रहरीले कानुनबमोजिम कारबाही गर्ने चेतावनी उनले दिए । 

हिउँदमा हुनसक्ने वन डढेलो तथा आगलागीका घटनालाई नियन्त्रण गर्न सप्ताहव्यापी अग्नि नियन्त्रण अभियान सुरु गरिएको वन कार्यालयका प्रमुख पशुपति दाहालले जानकारी दिए । ‘खोटाङ आगलागीका घटना हुने उच्च जोखिममा रहेको जिल्लामा पर्दछ । वन डढेलोका कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको छ । यसलाई नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु गरेका छौं’, उनले भने, ‘आगलागीका घटना नियन्त्रण गर्न सबै नागरिक सचेत हुन जरुरी छ । अभियानका क्रममा विशेषगरी स्थानीय बासिन्दालाई लक्षित गरेर चेनामूलक कार्यक्रम सञ्चालन गर्छौं ।’

अभ्यासमा सामुदायिक वन उपभोक्ता महासङ्घ, स्थानीय वन उपभोक्ता समिति, स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आगलागी नियन्त्रणमा सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

यसैबीच १० स्थानीय तह रहेको जिल्लाका विभिन्न सामुदायिक वनमा  डढेलो सल्केको छ । हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा शनिबार दिउँसो लागेको डढेलो गाउँवस्तीमा सल्किदा दुई घर जलेका प्रहरीले जनाएको छ । चौतारा सामुदायिक वनमा लागेको डढेलोले स्थानीय गजेन्द्र राई र ज्ञानीमाया राईको घर पूर्णरूपमा क्षति भएको जनाइएको छ ।

ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामीरेस्थित सामुदायिक वनमा लागेको डढेलोले खुतप्रसाद फुँयाल, युवराज राई र बुद्धिनाथ लम्सालको घर जलेको प्रहरीले जनाएको छ । डढेलोले बुद्धिनाथका ६० वटा बाख्रासमेत मरेका छन् । जिल्लामा भएका आगलागीका घटनाबाट अहिलेसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका  प्रमुख खड्काले राससलाई जानकारी दिए। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi