Skip to content
Prabhu

चतराधाममा यही चैत २७ देखि महाकुम्भ हुँदै

काठमाडौं । बराह क्षेत्र नगरपालिका–१, चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला हुने भएको छ ।

 

प्रधानमन्त्री कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानका रुपमा विश्वमा परिचित गराउने उद्देश्यले बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गर्न लागिएको जानकारी दिए। 

     

उनले सप्तकोशीको किनारमा रहेको चतराधाम धार्मिक र आध्यात्मिक दृष्टिकोणले समेत उत्कृष्ट पवित्रस्थल रहेको चर्चा गर्दै यहाँ आयोजित उक्त मेलामा सहभागी भई स्नान गरेमा सबैले पुण्य प्राप्त गर्ने धारणा राखे । यो महाकुम्भ मेला नेपालको धार्मिक पर्यटकको आकर्षणको केन्द्रविन्दुसमेत हुने गरेकाले यसबाट नेपालको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी बढीभन्दा बढी स्वदेशी तथा विदेशी धार्मिक पर्यटक एवं तीर्थालु भित्र्याउन नेपालले विशेष अभियान नै सञ्चालन गर्न सक्ने जगत्गुरु देवाचार्यको भनाई थियो । 

महाकुम्भ मेलामा नेपाल, भारत, बङ्गलादेशसहित १० देशबाट एक करोडभन्दा बढी भक्तजन आउने विश्वास गरिएको गुरु देवाचार्यले जानकारी दिए । भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ । 

बराह क्षेत्रमा विसं २०५९ देखि जगत्गुरु देवाचार्यको पहलमा महाकुम्भको आयोजना हुन थालेको हो । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेलाको आयोजना गर्ने गरिएको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको छ । 

जगत्गुरु देवाचार्य पौराणिक व्यवस्था तथा मान्यतामा चताराधाम नै महाकुम्भको आयोजना गर्नुपर्ने स्थानका रुपमा उल्लेख रहेको व्याख्या गरे। आफूले वैदिक सनातन धर्मग्रन्थहरुको अध्ययनबाट चताराधाम नै महाकुम्भको आयोजना गर्ने उचित स्थानका रुपमा पाएर यहाँ यो मेलाको आयोजना गर्न लगाएको दाबी गरे ।

 यो महाकुम्भ नेपालमा आयोजना हुने एक उत्कृष्ट एवं पवित्र अनुष्ठान भएकाले यसमा सहभागी भएर धार्मिक एवं अध्यात्मिक लाभ लिन पनि जगतगुरु देवाचार्यले सबै नेपालीलाई आह्वान गरे ।       

     

प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको संयोजकत्वमा महाकुम्भ मेला तयारी समिति गठन गरिएको थियो। सचिव पोखरेलले चतराधाममा हुन गइरहको महाकुम्भ मेला धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धेरै महत्वपूर्ण रहेको बताए ।  

उक्त क्षेत्र धार्मिक पर्यटनका लागि निकै महत्वपूर्ण स्थान रहेको र मेलामा आवतजावतका लागि भक्तजनलाई शान्तिसुरक्षा एवं आवश्यक अन्य व्यवस्थापन गरिसकिएको जानकारी सचिव पोखरेलले दिए।

 ‘मेरो देशको तीर्थ, मेरो देशको सानः सनातन धर्म र संस्कृति मेरो देशको पहिचान’ भन्ने नाराका साथ उक्त बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गरिएको हो । यस मेलाका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको पनि उनले जानकारी दिए। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal