Skip to content
Prabhu

कच्चापदार्थको अभावमा खोपासीको ‘फ्रेण्डसिप पेपर उद्योग’ संकटमा

nabil

 

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा सञ्चालित हाते कागज (फ्रेण्डसिप पेपर) उद्योग कच्चापदार्थको अभावका कारण सङ्कटमा परेको छ ।

आवश्यक परेका बेलामा कच्चापदार्थ (लोक्ता र अर्गेली)को अभाव, उत्पादन भएको कागज बिक्रीका लागि बजारको अभावका साथै आर्थिक व्यवस्थापनका लागि बैंकले ऋण नदिँदा उद्योग सञ्चालनमा सङ्कट उत्पन्न भइरहेको सञ्चालकले जनाएको छ ।

उद्योगका सञ्चालक चतुरमान शाक्यले मागअनुसार कच्चापदार्थको आपूर्ति नहुँदा भनेजस्तो उत्पादन गर्न समस्या भइरहेको बताए । साथै उत्पादित कागजको सहज रुपमा बिक्री नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

उद्योगमा लोक्ता र अर्गेली पेल्नका लागि तयार गर्ने काममा व्यस्त मनिता कार्कीले यहाँस्थित नेपाली कागज उद्योगमा वर्षौँदेखि काम गर्दै आएको बताए । उद्योग सिजन अनुसार जसोतसो सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

‘घाम नलाग्दा र पानी परेको बेलामा काम हुँदैन’, कार्कीले भने, ‘घामको भरमा काम गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि ४ बजेसम्म मात्रै काम गर्ने गरेका छौँ ।’ उद्योगमा कार्यरत सबै मजदुर आएमा दैनिक पाँचरछ कोरी उत्पदान हुने उहाँले जानकारी दिए ।

उद्योगमा कार्यरत अर्का मजदुर सवला गुरागाईंले कात्तिकदेखि वैशाखसम्म मात्रै काम हुने भन्दै आफ्नै टोलमा उद्योग भएकाले काम भने सहजै पाउने गरेको बताए । उनले विसं २०६२ देखि यहाँ काम गर्दै आएको बताए । उनीहरु जस्तै उक्त उद्योगमा दैनिक १४ जनाले कागज उत्पादनमा काम गरिरहेका छन् । आवश्यक परेको बेलामा कच्चापदार्थको आपूर्ति नहुँदा उत्पादनमा समस्या हुने गरेको उनीहरुको भनाइ छ । ठूलो ड्रममा उसिनेर कच्चापदार्थ पेल्नेबाहेक सबै काम मजदुरले गर्ने गरेका छन् ।

विसं २०५८ मा दुई जनाले दर्ता गरेर सञ्चालन गरेको ‘फ्रेण्डसिप पेपर उद्योग’ अहिले पनि जसोतसो सञ्चालन भइरहेको उद्योगका सञ्चालक शाक्यले बताउनुभयो । अहिले आवश्यक कच्चापदार्थ तथा बजारको अभाव, बिक्री गरे पनि समयमा पैसा नपाउनेलगायत समस्याले उद्योग सङ्कटमा पर्न थालेको उनको भनाइ छ । अहिले दुई जनाले उद्योग सञ्चालनलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिए ।

‘बजार सामान बिक्री गर्दा समयमा पैसा नदिने गरेकाले गाडी भाडा, मजदुरको ज्यालालगायत खर्चसमेत नपुग्ने अवस्था थियो । पछिल्लो समय यसलाई व्यवस्थापन गर्दै लगेका छौँ”, शाक्यले भने, ‘अहिले बजार पनि राम्रो छैन । केही मजदुरलाई भने अझै रोजगार दिन सकिरहेका छौँ ।’ उनका अनुसार उद्योगबाट २० ग्राम र ८० ग्रामका कागज उत्पादन हुँदै आएको छ ।

उत्पादित २० ग्रामको प्रतिकागज  २० र ८० रुपैयाँ ग्रामको ७० रुपैयाँमा बिक्री हुने गरेको सत्तचालक शाक्यले जानकारी दिनुभयो । उत्पादन गरेअनुसार बजारमा सामान बिक्री नहुँदा करिब पाँच÷छ लाख रुपैयाँको सामान गोदाममा थन्किएको उनको भनाइ  छ ।

‘कच्चापदार्थ आवश्यकता अनुसार नपाउने, पहिला नै भुक्तानी गरेर माग गर्नुपर्ने, आफूले भनेजस्तो नपाउने, बजार अभावलगायत कारणले उद्योग सङ्कटमा पर्दै गएको छ’, सञ्चालक शाक्यले भन्नुभयो । राज्यले आवश्यक कच्चापदार्थ, उत्पादन भएको वस्तुको सहज बजारीकरण र लगानीको पर्याप्त वातावरण बनाइदिएको अवस्थामा उद्योगको अस्तित्व बचाउन सकिने उनको भनाइ छ ।

उद्योगलाई निरन्तरता दिन बजारको सुनिश्चितता मुख्य आधार भएकाले त्यसको व्यवस्थापन राज्यले गरेमा भएका उद्योगलाई बचाउन र थप रोजगारीका अवसर सिर्जना गर्न सकिने शाक्यले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal